Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 02, 2011 | Author : युवराज नयाँघरे
Category : Memoir / संस्मरण | Views : 938 | Rating :

  
युवराज नयाँघरे

नियात्रा           

  

       टाइम्स स्क्वाएरमा बसिरहन पाइएन ।

       'आज रातभरिमा तीन-चार कार्यक्रम नबनाई भएकै छैन !'

       सहदेवले भने ।

       न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती ।

       अग्ला आलिशान घरहरू । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै ।

       मे महिनाको सुरुको साता ।

       एकदमै मीठो मौसम छ । जाडो भाग्न खोजेको उज्यालो कालबेला । हिउँ नपर्ने हार्दिक याम छ न्युयोर्कमा ।

       हामी उत्तरतिर पाइला सार्दैछौँ ।

       छयालीस स्ट्रीट पुग्यौँ । कारका लस्कर छन् आँखाले नभ्याउने । मान्छेको हुल झन् उत्पातको छ, छ ।

       भाइलाई फुर्सद कम छ । उनी न्युयोर्कको नेपाली समाजलाई एक बनाउन खटिरहेका छन् । उनी अर्थात् सहदेव पौडेल ।

       हिमाली स्वरहरू, अमेरिकामा प्रसिद्घ छ यो अनलाइन रेडियो । धेरै वर्ष भो यसले अमेरिकाली समाजमा नेपाली भावना, सोच र परिचयका लागि समय खर्चेको ।

       'यति ब्यस्त ठाउँमा कसरी मिलाउनु हुन्छ चाँजोपाँजो ?'

       मेरो सोधपुछ ।

       'एकलो छु । धेरै कमाउने चाहना छैन । आठ घन्टा काम गर्छु ।'

       'अनि यति कमाइले पुग्छ त ?'

       'पुर्याउनु पर्छ । कम सुत्छु । अनि रेडियो बचाउन सकेको छु !'

       'धन्य छ भाइ !'

       निकै हिँडेपछि बन्द हुन तम्तयार भएको सब वे भित्र पस्यौँ हामी । त्यहँ ओखलढुङ्गाका टङ्क खड्का र बैतडीका राजेन्द्र भट्टसँग भेट भयो मेरो ।

       मित्रहरूले बाह्र इन्च लामो पाउरोटीमा मासु, सागपात, अनेक मसला र काँक्रा-गाजर कोचेर टुन्न फुलाएको 'सब' हातमा थमाए ।

       'दाइलाई न्युयोर्कको चौरासी व्यञ्जन यही हो !'

       भट्टले मलाई मान गरे ।

       खड्काले अमेरिकन डाइट मलाई थमाउँदै भने-'��"पसानी हाल्न यै जल प्रयोग गर्नु होला !'

       अनि हामी सबै उही र उस्तै परिकारको स्वादमा रमाउँदै प्राइम पार्क पुग्यौँ । न्युयोर्कको सुन्दरता झन् उत्ताउलिएको थियो, न्युयोर्कको बैँस झन् आलोकमय थियो, न्युयोर्कको यौवन झन् आसक्तिपूर्ण थियो । मानिस, मौसम र मन उस्तै लाग्थे, उही लाग्थे र उनै लाग्थे ।

       स्नेही थिए सहदेव । आदर, प्रेम र श्रद्घा गर्न तिनी तत्पर भए झैँ मैले ठानेँ । शिष्टता र सरलता तिनको अमेरिकी समाजले दिएको उपहार झैँ व्यवहार थियो ।

       हिाडिरहेका थियौँ हामी ।

       जाडो लुगलुगाउँदो थियो । तैपनि अमेरिकाली गोरी युवतीका पिडुँला ह्वाङ्गै थिए । जाडो दाँत कटकटाउँदै थियो । तैपनि अफ्रिकाली अश्वेत सुन्दरीका बज्राँठ तिघ्रा उदाङ्गै थिए । हो ! तिनका कान, कपाल र टाउकामा स्काप, टोपी र रुमालको सजधज चैं घटेको थिएन ।

       टाइम्स स्क्वाएर छोडेको धेरै पर हो तैपनि त्यसको स्पर्शले छोडेको होइन । शायद सबै अमेरिकी शहरको परिचय त्यही हो ।

       'भाइ, बहाना त विद्याआर्जन नै होला नि अमेरिका भित्रिने ?'

       भट्टलाई मेरो प्रश्न ।

       'हो, त्यही बाटो भएर अमेरिका आइयो । अहिले त्यो लक्ष्य कता पुग्यो, यतिखेर चैं हातमा काम मात्र छ ।'

       उनको उत्तर सुनेँ ।

       प्राइम पार्कमा एक सरो डुलियो ।

       जिउ हल्लाईहल्लाई गफ गरिरहेको अश्वेतहरूको ठूलो हुल थियो ।

       'यी ओबामालाई ज्यान दिने कुरा गर्दैछन् !'

       'भनेपछि राजनीतिमा पोल्टिक्स्.............!'

       मेरो उत्तर अन्तिम थियो, त्यसले सबैलाई हँसायो ।

       भट्ट छुटे । हामीले 'भी' मेट्रो चढ्न केही समय कुर्यौँ । भीड एकदम थियो । तैपनि रेल छोडेनौँ हामी तीनले ।          

       'यहाँ निकै नेपालीहरूको अनुहार भेटिन्छ । भेट्नु भएन ?'

       टङ्कले भर्याङ झर्दा भने मलाई ।

       'त्यस्तै लाग्दैछ मलाई !'

       मैले कालो कपाल, नेपाली वर्णका, पहाडे जनजातिका रुपरङ्ग हिस्पानिकहरूको झुण्ड खुब देखिरहेथेँ । अझ रुपौला नारीको सङ्ख्या झन् उल्काको । हन, के बिदी राम्रा यी !

       'एल' रेल चढ्यौँ हामी ।

       भारतीय, हिस्पानिक, कोरियाली र अश्वेत अनुहारका युवायुवतीको रौस उल्कापातको थियो मेट्रोमा । युवकका बलिष्ठ छातीमा आफ्ना सुडौल शरीर लिपिस्सै टाँसेर नाँचिरहेका हिस्पानिकहरू अमिगो, अमिगा बोल्न पनि भ्याउँथे ।

       न्युयोर्कमा रेलका सुरुङ त कति हो कति ! रेलको भूमिगत जालोले सारा न्युयोर्क मुस्कुराएको लाग्छ सगर्व । सारा न्युयोर्कको गर्भ त रेलैले भरिभराउ !

       'भाइ हिमाली स्वरहरूलाई खुराक कसरी जुटाउनु हुन्छ ?'

       मेट्रोबाट हेल्सेमा उत्रिएपछि मैले प्रश्न राखेँ ।

       गहिरिएको छ रात । जाडो छ त्यही अनुसारकै ।

       मेट्रो कार्ड घोटेर बाहिर आएपछि भाइ बोले ।    

       'इमेल बाहेक विकल्प छैन !'

       'भनेपछि सबथोक यै भाँडो हो ?'

       मैले खड्काले बोकेको ल्यापटप देखाएँ । उनी त्यसकै सहायताले ज्योतिषीको काम, चिनाटिपनको काम गर्थे । भाग्य हेर्ने र ग्रहशान्तिको फुकफाक गर्थे खड्का ।

       यसो मोडमा हामीले सोडा घुड्कायौँ ।

       पश्चिम-दक्षिणतिरको रिजबुड ठाउँ रहेको सहदेवले सुनाए ।

       'यहाँ नेपालीहरूको ठूलो उपस्थिति छ ।'      

       'सङ्ख्या कति छ ?'      

       'तीन-चार हजारको हुनुपर्छ !'      

       'ए !'      

       'यहाँ नेपाली मन्दिर बनाउने हाम्रो समाजको कुरा भइरहेछ ।'      

       'राम्रो !'      

       'हिमाली स्वरहरू मार्फत् मैले पनि सघाइराछु !'

       पुरानो टोलजस्तो हेल्सेमा हामी पुग्छौँ ।

       रातको एघार बज्यो-घर पस्दा । मधुरो बत्तीमुनि हिमाली स्वरहरूका निम्ति मेरा दुईवटा निबन्ध सहदेवले रेकर्ड गरे मेरै आवाजमा । बाँधिएका हात र भोटेताल्चा, एकादेशमा हाम्रा अनुहार रेकर्ड गरियो अनलाइन रेडियोका लागि ।

        न्युयोर्कको यो मध्य शहरको मध्य रात ।

        संसारका सबै जातजाति दगुरिरहेको यो शहर । संसारका सबै मानिसले सम्भवतः नाम सुनेको यो शहर । संसारका सबै मानिसले आत्मविभोरसाथ हेरेको यो शहर । संसारका सबै मान्छेका खुट्टाले टेक्न चाहेको यो शहर ।

        यस शहरमा निबन्ध वाचन गरिरहेको छु म ।

        सहदेव भाइ नेपाली शब्दको प्रचारमा छन् । नेपाली भाव प्रसारमा अहोरात्र लागिपरेका छन् । नेपाली समाजको उकालीओह्राली बिस्तार गर्न खटेका छन् । त्यस महानगरका अभावमा डलरको जोहोभन्दा पहिचानको प्राप्तिका निम्ति समर्पित छन् निरन्तर ।

        'भाइ, रेडियोको अझै भविष्य छ र ?'

        रातोदिन कुदिरहेका न्युयोर्कबासी सम्झेर मैले सोधेँ ।      

        'दाइ, मानिसहरू बिस्तारै फर्किरहेका छन् यसको मूल्यतिर !'

        उनको आशपूर्ण बोलीमा प्रतिबद्घता थियो ।

        हामीले तातो कफी घुट्कायौँ ।

        यस बीचमा पुलिस र दमकलको भ्यान चर्को आवाज ��"कलेर गए । हामी एक छिन थामियौँ, रेकर्डलाई बाधा परेको ठानी ।

       भाइसँग केही दिन अघिदेखि सँगै छु म । पेन्सिलभेनियादेखि भर्जिनियासम्म । फेरि वासिङ्टन डिसीदेखि न्युयोर्कसम्म साथै रहेको थिएँ म ।

       निकै लामो त्यस उत्तेजित, भावुक र अनुभूतिमय यात्रामा तिनले बढी प्रश्नहरू गरे साहित्यबारे । सङ्गीतबारे जिज्ञासु देखिए । गीतबारे उत्तर खोजे ।

        नयाँ पुस्तक र लेखक सँधै तिनको केरकारमा पर्दा रहेछन् ।

        'मैले देश छोडेकोमा दुःखी छैन । यसै रेडियोले देशभित्र रहेको आडभरोसा मलाई सँधै याद दिलाउँछ, बुझ्नुभो दाइ !'

        सहदेवले ल्यापटपमा रहेको हिमाली स्वरहरूको इमेल आइडीको पासवर्ड लगआउट गर्दै भने ।

        न्युयोर्कको रात अझ मात्तिएको थियो । यो शहर नथाकेको देखेर म आफैँ गलेको थिएँ । उसको तरुन्याइँ देखेर उकुसमुकुस भएथ्यो मलाई । ��"छयानमा भए नि मन पुगेथ्यो धेरै पर-पर ।

        न्युयोर्कमा भावुक कवि भएँ म !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
मेरो पि्रय कवि, आदरणीय कवि बल दाइ । बल दाइ अर्थात् कृष्णभूषण बल । नाम सुन्ने बित्तिकै म श्रद्धाले नतमस्तक हुन्छु । तीसको दशकमा उदाउनुभएका शिष्ट तर विशिष्ट कवि बल दाइका कविताहरू पढेर मैले धेरै सिकेको छु । राजधानीदेखि बाहिर मोफसलमा रहेर पनि नेपाली काव्यिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अंशदान (Contribution) को बखान गरी साध्य छैन । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688480
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com