चालक नयाँ भएपनि चाल उस्तै उस्तै
बाजा फरक परेपनि ताल उस्तै उस्तै
ढुंगा फ्याँकी तलाउको शान्ति बिगार्नेले
सुनामी नै ल्याँउछु भन्छन् छाल उस्तै उस्तै
बिनाश रोकी बिकास ल्याउने कुरा धेरै भए
जोगी धेरै आए कानको हाल उस्तै उस्तै
सियो बनी पसेर निस्कन्छन् फाली बनी
पासा फ्याँक्ने सकुनीको जाल उस्तै उस्तै
खै ! कस्ले लिने चासो यहाँ जनताको
हिजोदेखि आजसम्म सवाल उस्तै उस्तै
भन्छन् सबै बनाउछु केही खास नयाँ
नयाँ युगको 'नयाँ नेपाल' उस्तै उस्तै । |