Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 22, 2010 | Author : बिमल गुरुङ
Category : Poetry / कविता | Views : 981 | Unrated

  
बिमल गुरुङ

अब मुद्दाको कविता लेख्न लागेको छु

वर्षौं - वर्ष देखि

आकाशतिर नियाल्दै

आफ्नो शुरमा

आफ्नै सुसाहट बोकेर

बगिरहेकी बगिरहेकी

दुधकोशीको तिरमा बसेर

लेख्न लागेको छु, लेख्न बसेको छु

फांसीको - फन्दाको

कविता लेख्न लागेको छु ।

 

तीन त्रिलोक, चौध भुवनको

समस्त फूलबारीहरूको

अपुर्व व्याख्या गर्दै थाकका थाक लेखे कविहरूले

कविहरूले महलमा बसेर

पृथ्वीका सुन्दरी अप्सराहरूका

हाउभाउ र कटाक्षका कविता लेखे

कविहरूले समुन्द्रका कविता लेखे

कविहरूले झरनाका कविता लेखे

धकै नमानी

कविहरूले

दाउरे दाईले वनजाँचको आँखा छलेर

वनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे

क्रमश:

टेबुलमाथि

ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरू लडिरहे

लडिरहे

��"ंठमा याक जलिरहे जलिरहे

एष्ट्रेमा मोर  निभिरहे निभिरहे

कविहरूले दाउरे दाईको भोक-प्यास-सपनाको

कविता लेखेको कसैलाई थाहा भएन

यसैले, म बाध्य छु तलबवाला कविहरू !

म अब गोलभेडाको कविता लेख्छु

म अब तिर्खाको कविता लेख्छु

म अब न्याउरी मुसाको चाहनाको कविता लेख्छु

म अब बेसी फुर्सद पाएर वैंशले पात्तिएका

महाजनहरूका छाउरा/छाउरीहरूका खिल्ली उडाउँदै कविता लेख्छु ।

 

कविहरूले

खोलाका एकनास-एकनास धुनहरूका कविता लेखे

कविहरूले

चाँप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कविता लेखे

कविहरूले

आफ्नै बहिनीको चोलो च्यात्ने

मालिक साहेबको जयजयकार गर्दै कविता लेखे

मालिक साहेबलाई रिझाइबक्सन

कविहरूले स्तुति र गुणगानका कविता लेखे

कविहरूले भक्ति र प्रसंशाका कविता लेखे ।

 

मैले यो भन्नै पर्छ कि

मलाई थाहा छैन

कविहरूले एकपक्षीय अत्याचारको विरुद्धमा

युद्धका कविता लेखेर

साँझमा निस्कने मान्छेहरूका जमातमा गएर सुनाएको थाहा छैन ।

 

हजुर रिसाउनुहोस या खुसाउनुहोस

अर्थात

खुसाउनुहोस् या

रिसाउनुहोस चौधारी साहेब !

म अब झण्डै झण्डै बाध्य जस्तो भएको छु

दुख नमान्नुस है चौधरी साहेब !

खटिया माथिको मसीको बट्टामा

पाँच हजारवटा आकाश राखेर

अनि शिरमा चट्ट एउटा रुमाल सिउरेर

म अब टक्करको कविता लेख्छु ।

 

म अब झिल्काको कविता लेख्छु

लेखेनन् कविहरूले

फस्टेको पाठशालाको शुल्कबारे कहिल्यै लेखेनन्

कविहरूले

हैजाले सात दिनदेखि ��"छ्यानमा परेको

रातेको बिरामी बुबाको अवर्णणीय कष्ट कहिल्यै देखेनन् ।

 

कविहरूले

केवल सम्राटहरूको दु:खका कविता लेखे

कविहरूले

केवल

सम्राटहरूका आनन्दका कविता लेखे ।

 

कबिहरूले

केवल सुन्दरीहरूसँग नारिएर नाँच्दा आउने

उत्तेजनाका कविता लेखे

कविहरूले केवल सिताको पतिप्रेमका कविता लेखे

कविहरूले

केवल, सेतो टिनको छाना माथि

टुक्रुक्क लौरो टेकेर बसेको

स्वास्नी कुट्ने

आयोतुल्ला खुमेनीको प्रफुल्ल आँखाका कविता लेखे ।

 

कविहरूका हात

कहिल्यै रातेको बाबुको दु:खको कविता लेख्न चल्मलाएनन्

कविहरूका हात

कहिल्यै रातेको बाबुको पसिनाको कविता लेख्न चल्मलाएनन् ।

 

चौधरी साहेब !

म अब हजुरलाई रातको रगना सकेर

सँधै झैं

रामायणको उत्तरकाण्ड/ बालकाण्ड र

इत्यादि, कुन्नि के के काण्डहरू पढेर सुनाउँन सक्तिन

म अब सँधै झैं

हरेक वर्ष स्वस्थानीको व्रतकथा पढ्न पनि सक्तिन

म अब हजुरको

त्यो कालो हरहिसाब मिलाउन पनि सक्तिन ।

 

चौधरी साहेब !

साँच्ची, नरिसाउनुहोस है !

म अब रातेको बुबाको पिडाको कविता लेख्छु

म अब माटोको कविता लेख्छु

स्वात्त ...!

अगेना भित्र पसेर

म अब एक किलो जंगलको कविता लेख्छु

म अब चोटपटकको कविता लेख्छु

चौधरी साहेब !

म अब तपाई कै विरुद्धमा कविता लेख्छु !

 

म अब जनई भिरेको ब्राम्हणले

सार्कीको होटेलमा पसेर

सुंगुर्/रांगो/भैंसी/सर्प र

भ्यागुताको मासु

पड्काएको कविता लेख्छु

म अब

गिंठा र भ्याकुरको कविता लेख्छु

म अब

चिप्लेभेण्टीको कविता लेख्छु ।

 

समुन्द्र पारीको धावामा

मरेका आफ्ना छोराहरू सम्झदै

अनुहारका आकाशभरि पिडाका घाउहरू बोकेर

थुप्रै आमाहरू

आँगनमा

मुर्छा परिपरि रोएको मैले देखेको छु

म त्यसैको कविता लेख्छु !

म अब त्यसैको कविता लेख्छु !

हो म अब त्यसैको कविता लेख्छु ।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
(सबै पिपल बोटको चौतारा वरिपरि कावा खाँदै बसेका छन्, यही चौतारा हो जहाँ यो गाँउका बुढापाकादेखि लिएर नानी केटाकेटीसम्म रम्ने ठाउँ । अनि, भरिया दाजुभाइका तोक्मासँगै झर्ने निधारका पसिनाका ढिक्का र महाजनसम्मले भुँडी बिसाउने एउटा साझा बिसौनी ।)......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
867071
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com