जे देख्छन्, त्यही लेख्छन्
जे भोग्छन्, त्यही बोल्छन्
जे सुन्छन्, त्यही सुनाउँछन्
यौटा बालकजस्तो
सधैँसधैँ निर्भिक उभिएर
निर्भय सत्य ओकल्छन्
पागलहरू,
पागलहरूलाई
फेरि पागल हुनाको डर हुँदैन
पागलहरूलाई सज्जन हुने रहर पनि हुँदैन,
पागलहरू
आफ्नै लयमा गाउँछन्
आफ्नै तालमा नाच्छन्
आफ्नै भाषामा हाँस्छन्
आफ्नै भाषामा रून्छन्
सज्जनहरूजस्तो
कसैको इशारामा
केही पनि गर्दैनन् पागलहरू,
पागलहरू जान्दैनन्
आत्मा क्रयबिक्रयको व्यापार
जान्दैनन् सत्यको घाँटी रेट्न
र, जान्दैनन् समयलाई उल्टो घुमाउँन ।
पागलहरू यत्ति जान्दछन्
आफू हिँडेको बाटो आफ्नै हो
आफू हिँडेको छानो आफ्नै हो
आफूले देखेको घाम आफ्नै हो,
पागलहरू
सज्जनहरूको जस्तो
जादैनन् देश छोडेर परदेश,
रिसाए भने पागलहरू
थुकिदिन्छन् सज्जनहरूको ईश्वरमाथि
हिर्काउँछन् - ढुङ्गा
झोस्छन् - आगो
उठाउँछन् - मुठ्ठी
त्यत्तिमात्र होइन
रिसाए भने पागलहरूले
च्यात्छन् धमिराले खाएको देशको नक्शा ।
गुल्मी
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ मा "द्वितीय" पुरस्कृत कविता) |