Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 27, 2010 | Author : राजन मुकारूङ
Category : Poetry / कविता | Views : 803 | Rating :

  
राजन मुकारूङ

१.

पहिले पहिले हाम्रा चेब्जुहरू

ढाकरभरि ओढ्ने, ओछ्याउने, सामल, खाजा, नूनभुटुन बोकेर 

मुद्दा खेप्न धाउँथे रे काठमाण्डू

उनीहरू        

सोझै पुराइन्थे रे राजश्री महल  

र सुनाइन्थ्यो रे फैसाला-

श्री श्री श्री महाराजाधिराजको हुकुमले

आगे तहाँ तिमी जिमी-भूमिवाला राई, सुब्बा, थकाली, मुखियाद्वारा 

चर्ची आएको सिमखेत, ब्याँसी खेत, चरन, पाखोभित्तो

थुनिआएको दुवाली, खोला

थामिआएको किपट

तिरिआएको पुर्जा

उप्रान्त हामीले लिइबक्स्यौँ 

तिमी माथा-पगरीहरूलाई छुटकारा दिइबक्स्यौँ ।

 

२.

त्यसपछि हाम्रा जिजुहरूले 

काठमाण्डू आउने सपना नै देखेनछन् 

लालमोहर खोसिएको १६७ वर्षपछि

राज्यले-

धर्मशास्त्र घोकाउन थालेको १३६ वर्षपछि

आफ्ना लिपीहरू डढाएको २०५ वर्षपछि

सात सालमा 

ओखलढुङ्गा जितेर रामेछापसम्म आइपुगेका थिए रे

जवाहारलाल नेहरूको बम

महात्मा गान्धीको लाठी

लालबहादुर शास्त्रीको कद

यी तिनै थोकको फ्युजनमा

दिल्ली सम्झौता भएपछि 

निन्याउरो अनुहार लिएर फर्केका अरे गाउँतिरै ।

 

३.

हाम्रा बाजेहरू कसैकसैले

अठ्ठाइस सालमा वर्ग सत्रू सफाया अभियानको बन्दुक बोकेछन् 

उनीहरूको सर्वस्वहरण गरिएछ

कोही कोहीचाहिँ महेन्द्र राजमार्गको बस चढेर काठमाण्डू आएछन्

लाएछन् पोलझोस

पाएछन् बक्सिस्

र यतै बसेछन्

तिनका छोराछोरी, नातिनातिनाहरू

अथवा

साइनोले हाम्रा बडा, काका, फुपूहरू

साइनोले हाम्रा दाजु, भाइ, दिदी, बहिनीहरू

उनीहरूसँग

नामको पछाडि लेख्ने हाम्रो थर मात्र मिल्छ

भाषा मिल्दैन

संस्कृति मिल्दैन 

सबभन्दा ठूलो कुरा त

बाँच्ने तरिका र विचार मिल्दैन

अर्कैअर्कै जातका मान्छेहरूजस्ता भएका छौँ हामी

अर्कैअर्कै देशका नागरिकहरूजस्ता भएका छौँ हामी ।

 

४.

बाजेहरूकै पालामा भएको हो जनमतसङ्ग्रह

गाउँमा हाम्रा बाजेहरूले

रोजेछन् नीलो रङ्ग

भनेछन् बहुदल जिन्दावाद 

त्यसैको स्वाद चढेछ हाम्रा गाम्ले बडा, बाउ र काकाहरूमा

छयालीस सालको आन्दोलनभरि

उनीहरूले गाउँगाउँमा पर्चा बाँडे

संगठन गरे, माइकिङ गरे

कोही जिल्लामै जेल परे

कोही चाक्सीबारीमा आइपुगेर गिरफ्तार भए

कोही सालिक भत्काउन खोज्दा दरबारमार्गमा मारिए । 

 

५.

पहिलो पल्ट 

हाम्रो पुस्ता

सपनाको झोला बोकेर आएको हो काठमाण्डू 

हाम्रो झोलामा हुन्थ्यो

नागरिकताको प्रमाणपत्र

एसएलसीको सर्टिफिकेट

बाबाले हल गोरु बेचेर दिनुभएको समयजस्तै थोरै रुपियाँ 

आमाले प्लास्टिकमा पोको पारिदिनुभएको 

जीवनजस्तै गुन्द्रुक, किनामा र छोपको अचार ।

 

६.

राजनीतिले धाँजा पारेको काठमाण्डूमा

हाम्रा लागि

सरकारी कार्यालयको ढोका बन्द थिए

कतिले निजी क्षेत्रको व्यापारव्यवसाय गर्यौँ

कोही सफल भयौँ

कोही असफल हुँदै रह्यौँ

कतिले चाहिँ पासपोर्ट बनायौँ

र धायौँ मेनपावर कम्पनी

कति ठगियौँ

कतिचाहिँ अन्तराष्ट्रीय विमानस्थलमा पुगेपछि 

देशलाई सम्झेर बेस्कन रोयौँ ।

 

७.

हाम्रै समय 

हामीमा धेरै उतारचढावहरू आए

कोही सुराकीको नाममा बेपत्ता हुन थाल्यौँ 

कोही आतंककारीको नाममा मारिन थाल्यौँ

हामी बाध्य भयौँ काठमाण्डू छाड्न ।

 

कपालमा रातो कफन बाँधेर हामीले

दशदश वर्षसम्म

झोरझाडी, भीरपहरा भनेनौँ

घँघारु काँडा, ठेस, सिस्नुको पोलाइ भनेनौँ

झरीवादल, गर्मी वा हिउँद-बर्खा भनेनौँ

भोक-प्यास, घरपरिवार, चाडपर्व भनेनौँ 

बम-बारुद, गोली अथवा मृत्युसित डराएनौँ

खासमा त 

श्री ५ महाराजाधिराजको जय भनेनौँ  

र भयो दोस्रो जनआन्दोलन 

र भयो संविधानसभाको चुनाव ।

 

८.

अहिले हामी

६२र६३ को आन्दोलनमा हामीले उचालेका रुखका हाँगाहरू सम्झँदैछौँ

काठमाण्डूका चोकचोकमा छिनेका हाम्रा हात्तीछाप चप्पलहरू सम्झँदैछौँ

विशेष गरेर

पुरानो हुँदै गएको हाम्रो कमिजभरि

ठसठसी गन्हाउने पसिना अथवा

लत्पतिएको हाम्रो रगत सम्झँदैछौँ   

र सोध्दैछौँ-

ती रुखका हाँगाहरूलाई कसले बाल्यो र को ताप्दैछ आगो र ?

ती हात्तीछाप चप्पलहरूलाई कसले मेसिनमा पिस्यो र बनायो सुकिलो कपडा र ?

को लाउँदैछ टाइसुट र ?

हाम्रो कमिजलाई कसले बनायो राष्ट्रीय झण्डा र को गुड्दैछ कारगेटमाथि फर्फराउँदै र ? 

 

९.

हो, अब चिन्नु छ हाम्रो पुस्ताले

चिन्नु छ तिनीहरूलाई 

जसले हामीलाई मैलाधैला भन्यो र हियायो

जसले हामीलाई अपठित भन्यो र निरक्षर ठान्यो

जसले हामीलाई गाम्ले भन्यो र तथानाम गाली गर्यो 

जसले हामीलाई कार्यकर्ता मात्रै भन्यो, प्रतिकार गर्यो

एकएक गरेर चिन्नु छ तिनीहरूलाई 

किनभने,

यही काठमाण्डूका यी सडकहरूमा 

हामीसँगै आइपुगेका यी नानीहरूले पनि

रातो गञ्जी नै लगाएका छन् हामीजस्तै ।
 
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हङकङमा छौ नि कान्छा मत गाउघरैमा
नबिर्स है कान्छा मलाई भुली रमझमैमा
भेट भयो पहिलो चोटी राजारानी गाउँमा
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा
मोती जस्तो दन्तै राम्रो मोहनी आँखैमा
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा,

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688012
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com