हार्नै नजान्ने र जित्नै नसक्नेहरुको
बसमा परेको छ मेरो देश
भाइ-भाइ जुधाएर गवरा लुट्नेहरुको
सेपमा परेको छ मेरो देश ।
गाउँको माया बोकेर परदेशीनेहरुको
पीरमा परेको छ मेरो देश
कुर्सी खेलबाट उछिट्टिएर
तारे भीरमा लडेको छ मेरो देश ।
दौरा सुरुवाल माथि धोती ओढ्नेहरुको
इशारामा चलेको मेरो देश
चारकोशे झाडीमा डढेलो सल्काई
आफै जलेको छ मेरो देश ।
सुन फल्ने भूमि बन्दगी राखेर
अनिकालमा परेको छ मेरो देश
हिरा बग्ने नदीनाला परिचयहिन हुँदा
लोडसेडिङको मारमा परेको छ मेरो देश ।
प्रकृतीको सुन्दर आँगन बम र बारुदको सुरुङले
खाडल भएको छ मेरो देश
आफ्नै कोखबाट जन्मिएको बुद्धलाई आज पराईले दावी गर्दा
पागल भएको छ मेरो देश ।
हङकङ
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
कविता अभियान ! ! |