सुन्नु भएछ;
तर धेरै अवेर भइसक्यो
फूल फुल्ने आँगनमा
वेतिथिको कटहर फल्न थाले पछि
गोहिको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसवेला यहालाई के भनौ ?
भन्नलाई महाभारतका पर्वहरू पनि छोटो हुन्छ ।
मौका परेको छ, चौका हान्नुहोस-
छेपोरोले पनि मौसम अनुसार रङ्ग वदल्छ रे ।
के गर्नु व्वाँसो खेदेर श्याललाई वास दिए पछि
सिंगारी त हराउने नै भयो ।
आउनु भएछ,
तर धेरै अवेर भइसक्यो
शोकाकुल आँखाहरूमा
आँसु रित्तिन लागेको वेला
तुल र सयपत्रि फूल पनि ओईलाउन थालिसकेछ ।
यस्तो अवसरमा यहाँलाई के दिऊ ?
दिनका लागि हामी कर्ण भन्दा दानी छौ
छातीमा हात राखेर आफैलाई सोधे हुन्छ--
एकलब्यले त वुढी औंला मात्र चडाएका थिए रे
हामीले सिङ्गो हात र साथ दिएका थियौ
तर यहाले पूरा जीवन नै लिनु भयो ।
चिन्नु भएछ,
तर धेरै अवेर भइसक्यो
युग हाक्ने छातीमा पनि
विवेक र मानवताको खडेरी पर्न थाले पछि
आस्था र विश्वास डगमगाउन थालिसकेछ ।
अब त यहालाई चिन्न पनि गाह्रो भो ?
कति धेरै परिर्वतन आएछ-
हात गोडाहरूमा लामालामा नग्राहरू पलाउन थालिसकेछ,
अनुहार ठयाक्कै ड्रयाकुलाको जस्तो भएछ ।
पत्यार लाग्दैन भने कुवामा हेर्नुस त-
अनुहार भरि डिकेन्द्र राजवंशीको रगत पोतिए जस्तो छ ।
तर चिन्ता लिनु पर्दैन हजुर
तिर्खा नमेटिए-
अझै जीवित छन् धेरै धेरै डिकेन्द्र राजवंशीहरू ।
(स्व डिकेन्द्र राजवंशीमा श्रद्धाञ्जली सहित) |