अहिले केमा व्यस्त हुनु हुन्छ ?
हालै प्रकाशित तथा बिमोचित युद्ध एम्बुसमा राइफलको सङ्गीतको बजार व्यवस्थापन लगायत यसको प्रोमोट विशेष युद्ध साहित्यलाई कसरी आम पाठक बीच पुर्याउँन सकिन्छ भन्ने कार्यका साथै क्रिया, प्रतिक्रिया र अन्तरक्रियातर्फ मेरो ध्यान तानिएको अवस्था छ यतिबेला ।
नेपाली साहित्य क्षेत्रमा युद्घकविको रुपमा उपस्थित हुनु भएको छ । कहाँ र कहिलेबाट प्रारम्भ गर्नु भयो साहित्यिक यात्रा ? कोबाट बढि प्रभावित हुनु भयो ?
साहित्य कहिले देखि सुरु भयो भन्ने तपाइँको जिज्ञासाको ठ्याक्क उत्तर दिनका निम्ति विगतलाई खोतल्दै र सम्झनाको वृत्तलाई तन्काउँदै खोटाङ्सम्म पुर्याउन पर्ने हुन्छ मैले आफूलाई, जहाँ म साहित्यतिर नजानिदो पाराले तानिएँ करिब तीन दशक पहिले । को बाट प्रभावित ? यही हो भन्ने एकल कवि या व्याक्ति तोक्न निकै गाह्रो छ, तर म प्रभावित भएँ सायद समयको कविताबाट या भनौं साहित्यको चेतनायुक्त इन्द्रेणीबाट । युद्ध कवि हुँ भनी जिकिर गर्ने न त मेरो धोको हो न त उद्देश्य नै । सृजनाको अर्थ पगरी गुथ्ने भन्ने मलाई लाग्दैन । यद्यपि त्यो पगरी गुथाउनु भएकोमा धन्यवाद ।
तपाईले यो भन्दा पहिले नेपाली साहित्यिक क्षेत्रमा दुई कृतिहरू 'रायफलको नालबाट जीवन नियाल्दा' र 'राइफलले फलाकेको जिन्दगी' पाठकलाई दिन सफल हुनु भएको छ प्रतिक्रिया कस्तो पाउनु भयो ?
दुवै मेरा कृतिका प्रतिक्रिया सकारात्मक आए । तथापि लाहुरे साथीभाइबाट भने कविताको तुलनामा उपन्यासको बढी चर्चा भयो । सोधी खोजी भयो । किन भन्दा उपन्यासमा साथीभाइहरूले आफूलाई प्रतक्ष्य भेटे । बुझे । साथै आफ्नो भूमिका पाए । त्यसैले त्यस्तो भएको हुन सक्छ ।
हालै मात्र काठमाडौंमा 'युद्घमा एम्बुसमा राइफलको सङगीत'को विमोचित गर्नु भएको छ यसको बारेमा थोरै बताइदिनुस् न ?
युद्ध एम्बुसमा राइफलको सङ्गीत युद्ध उपन्यास त हो नै । त्यसको अतिरिक्त यो एउटा लाहुरे अथवा ऊ सित अन्तर्सम्बन्धितहरूको सम्पूर्ण जीवन भोगाईको कथा हो र व्यथा पनि । युद्ध भोगाई, सैन्य भोगाई, नोस्टाल्जिक बल्झाईको दुखाई, पारिवारिक पीडा र चिन्ताको रुझाई आदिको फ्युजन गरेको छु मैले मेरो नवीन कृतिमा ।
यो तेश्रो कृति प्रकाशन गर्नुको उद्देश्य पहिलाका कृतिहरूले सफता पायो भनेर हो ?
पहिलेका कृतिहरूले सफलता पाएको पक्कै हो । यद्यपि सफलता या असफलता भन्नुभन्दा पनि पल्टनेको अलिखित जीवनलाई मैले साहित्यमा लेखेँ । सबैले आ-आफ्नो जीवनलाई शिल्प र शैलीले तुनेर, आ-आफ्नो अनुभवलाई विम्ब र प्रतीकले बुनेर कलात्मक बनाउँछन् पठनीय बनाउँछन् भने सैनिक जीवनलाई चाहिँ किन नबनाउँने ? कृति रचिनुको अभिस्ट त्यति मात्र ।
एउटा पल्टने गोर्खालि आर्मीको वास्तविक समस्या, दुःख, पिडा भोगाईलाई चित्रण गर्न सक्ने तपाईको यस कृतिले आम नेपाली समाज र साहित्यमा दिने योगदान वा ज्ञान कस्तो होला भन्ने सोच्नु भएको छ ?
नेपाली समाज र साहित्यलाई दिने योगदानको सन्दर्भमा यौटा युद्धसँग सम्बन्धित साहित्य जो दुई सय वर्षदेखि लेखिन पर्ने थियो त्यस्को अभावमा गोर्खालीको जीवन साहित्यिक दृष्टिकोणमा अपुरो र≈यो अधुरो र≈यो अर्थात गोर्खाली वीरता नेपाली समाजभित्र गुमनाम रहन पर्यो । लडाइँ त लडियो तर कसरी र कुन अवस्थासम्म भोगेर लड्न पर्यो, युद्ध सन्त्रासले कसरी मान्छेको संवेदना मार्छ साथै संवेदनाहीन मान्छेको स्वरुप कस्तो देखिन्छ ? उसले मृत्युमात्र सोच्छ कि लडाइँमा जीवन पनि सोच्छ ? यौटा योद्धाको मनोविज्ञान बुझ्नका निम्ति यी कृतिहरूले मद्दत गर्नेछन् भन्ने मलाई लाग्छ ।
सोंचौ युद्घ मौदानमा हुँदा एम्बुसमा राइफबाट निस्कने गोलि र बम बारुदले निकाल्ने सङ्गीत कतिको मिठो लाग्छ र अहिले साहित्यिक मौदानमा हुँदा कलमले निकालेको सङरगीतमा कस्तो तुलनात्मक रुपमा अनुभब भई रहेको छ ?
साहित्यिक मैदानमा कलमले निकाल्ने जीवनको सङ्गीत युद्धमा अझ् एम्बुसमा राइफल, मेसिनगन र गि्रनेडले निकाल्ने सङ्गीतकै मूल सङ्गीत अथवा त्यसैको प्रतिकपि ताल, लय र धुन हो । जीवन र मृत्युको दोसाधमा अल्झिको विवश जीवनको अमूर्त सङ्गीत राइफलले नरचेको भए कलमले मात्र सायदै रच्न सक्ने थियो ।
तपाई त आर्मि, आर्मिहरू यस्तो साहित्यि लेखन कार्यमा त्यति देखिदैनन् नि तपाईमा कसरी अङ्कुरायो यस्तो साहित्यिक विचार ?
मलाई लाग्छ प्रत्येक मान्छे स्रष्टा र द्रष्टा दुवै हो । अनुभूत सबैले गर्छ । अनुभूतिको धड्कन भने नितान्त आफ्नै हुदाँरहेछन् । सृजनाको विविधता भनेकै त्यही हो साथै मौलिकता पनि । साहित्यमा लाग्छु नै भनेर सायद मैले अनुभूत गरिनँ होला । यद्यपि मभित्रको भावना अथवा लेखकले मलाई 'तैंले लेख्नपर्छ' भनेर जब अह्रायो, हुकुम गरायो तब देखि सम्भवतः म साहित्यमा लागेँ कि ?
यदि तपाई आर्मी नभएको भए के हुन्थे जस्तो लाग्छ ?
यदि म आर्मी अथवा पल्टने नभएको भए अवश्य पनि अर्काको विचार लादिएको झोला बोक्ने भरिया (सभ्य भाषामा कार्यकर्ता) हुन्थेँ होला । नभए मास्टर हुन्थेँ कि अथवा मा��"वादी बनी मन्त्री नै पो बन्थेँ होला ।
नेपाली साहित्यमा पछिल्लो समयमा आएर मात्र सैन्य साहित्य देखापर्न थालेको छ किन होला ?
समय अर्थात चेतनाको कारण यसो भएको हो । कालो अथवा अध्याँरो रातमा तपाइँ के गर्न सक्नु हुन्छ ? जब मिर्मिरे हुन्छ तब न मान्छे केही गर्न जुर्मुराउँछ । घाम लागेपछि ऊ कुद्छ, दौडन्छ । युद्ध भनौं सैन्य साहित्यको सन्दर्भ पनि त्यस्तै हो । स्रष्टाहरू तुलनात्मक निर्वन्धित हुनु र उज्यालो पाटोमा रहनुको परिणाम हो सैन्य साहित्यको वर्तमान लेखनकार्य ।
हङकङ, बेलायत तथा नेपालमा रहँदा तपाई विभिन्न साहित्यि तथा समाजिक संघ सस्थामा आबद्घ हुनुहुन्छ यस्ता साहित्यि तथा समाजिक संघ सस्थाले नेपाली सहित्यिक क्षेत्रमा कत्तिको प्रभावकारी भुमिका खेलेको पाउनु भयो ?
सामाजिक संघ संस्था र साहित्यिक संस्था फाफाल्टै पृष्ठभूमि र उद्देश्यबाट गठित भएकाले आआफ्नो ठाउँमा आफ्नो जिम्मेवारी वहन गर्छन् नै । तथापि, जहाँसम्म साहित्यको प्रभावकारिताको प्रसंग जोडिन्छ, विदेश त्यसमा पनि हात मुख जोड्ने पहिलो प्राथमिकताको अगाडि साहित्यको प्रभावकारिता आशातीतः केही कम अवश्यै लाग्छ । तरपनि स्थिति अध्याँरोन्मुख भने छैन, त्यो उज्यालोको यात्रामै छ ।
हङकङमा रहँदा सृजनशील साहित्य हङकङबाट तपाईको कृतिहरू आयो, कस्तो पाउनु भयो हङकङमा साहित्य माहौल र हाल बेलायतमा हुनुहुन्छ त्यहााको अवस्थाको बारे बताइ दिनुस् न ?
सृजनशिल साहित्य समाज मेरो साहित्यिक लहरा(जीवन)को थाङ्ग्रो हो । जसले मलाई जीवन दियो, फैलन सिकायो, आँधी हुरी विरुद्ध उभिन सिकायो, गतिशिल बनायो, प्रेरणा दियो भनौं मेरो शुसुप्त लेखन यात्राको आड भरोसा बनेर प्रोत्साहित गर्यो । जसको कारण राइफलको सङ्गीत सुन्ने म जीवनको सङ्गीत सुनाउने भएको छु । हङकङको जस्तो उर्जाशिल एवम् प्रभावकारि साहित्यिक वातावरण त वेलायतमा निश्चय नै छैन, यद्यपि अध्याँरो हटाउँन मैन बत्तिसम्म बाल्ने जमर्को भने जारी छ ।
प्रवासबाट नेपाली साहित्य निरन्तर लेखिए पनि नेपाली साहित्यको मूलधारले वेवास्ता गरेको गुनासो पनि सुनिन्छ के यो सत्य हो तपाईलाई के लाग्छ ?
साहित्यमा मूलधार के लाई मान्ने ? कम्तीमा त्यस्को साहित्यिक, सैद्धान्तिक र सर्वस्वीकार्य न्यूनतम् आधार त स्पष्ट हुनुपर्यो । तथापि जो जसले साहित्यको कथित मूलधारको तालाचाबी हातमा लिएका ठान्छन् र सुरक्षित रहेको महसूस गर्छन् । मलाई लाग्छ त्यो भ्रम हो । पर्खाल चर्किई प्वाल पर्न लागेपछि, छानो चुहिन थालेपछि तालाचाबी जति नै जोडले अठ्याए पनि त्यो ढलेरै छाड्छ । 'र्बिसे नगर्चिको बयान' बेगर नेपाली कविताको क्षितिज कति चम्किलो देखिएला ? यथार्थलाई स्वीकार्न कञ्जुस्याई पाल्नु हुँदैन । आफ्नो वृत्त इतरको कंक्रिट सिर्जनालाई पाखा लगाउने षड्यन्त्र रचिनु भनेको तथाकथित मूलधारको जग खच्किनु हो । मक्किनु हो ।
तपाईको विचारमा साहित्य कस्तो हुनु पर्ला ? र नेपाली साहित्यलाई कसरी लिनु भएको छ ?
साहित्य साहित्य जस्तै हुनुपर्छ साहित्यभन्दा अर्थोक हुनु हुँदैन । दुखाई जस्तै हुनुपर्छ साहित्य, भोगाई जस्तै हुनुपर्यो सिर्जना । जहाँ जीवन र जगतलाई चियाँउन पाइयोस् । हृदय छाम्न पाइयोस् । र पसिनाको गन्ध पसिनाकै गन्धमा सुङन पाइयोस् । स्तुती याचना हो साहित्य होइन । कस्मेटिक सिर्जना पनि साहित्यको परिभाषाभित्र ठान्छु- पर्दैन ।
हाल नेपाली साहित्यमा बिभिन्न विधाहरूकको असंख्य प्रयोगहरू भइरहेका छन् यसमा तपाईको दृष्टिकोण कस्तो छ ?
हामी जे लेख्छौं र लेखिरहेका छौं त्यो मात्र सब थोक होइन, दुनिया होइन । साहित्य जड्सुत्रवादी हुनै सक्तैन । नयाँ चिन्तन, विचार, शिल्प र शैलि आदिका साथै त्यही अनुरुपको सामयिक प्रयोग भएन भने त साहित्य कसरी नवीन, गतिशिल र परिवर्तनशिल हुन्छ । घर बनाउन प्रयोग गरिने इटाको जस्तो उस्तै आकार, यौटै साइज, उस्तै मोटाई, उस्तै रङभएको इटाजस्तो साहित्य पनि साँचोमा ढालेर लेखिने हो भने कहाँ लेखिन्छ र सिर्जनात्मक निस्सिमता, नौलो पन, नवीन विचार-चिन्तन, विविधता समावेशिता आदि आदि । त्यसैले साहित्यिक आकाशलाई अझ् उज्यालो बाल्न नवीन प्रयोगको चिन्तनको अत्यावश्यक छ विशेष नेपाली साहित्यमा ।
सम्पूर्ण पाठकलाई बगैंचा मार्फत के भन्न चहानु हुन्छ ?
स्तरिय साहित्यिक वेव पत्रिका बगैंचा डट कम मार्फत आदरणिय पाठकहरूलाई साहित्यलाई जीवनको अभिन्न अंगको रुपमा लि��"ं भन्ने अनुरोध गर्न चाहन्छु । जसले जीवन र जगतलाई हेर्ने र बुझ्ने तेस्रो आँखाको बिकास गराउँछ । पाठक महानुभावहरूले पढिदिनु हुन्छ र नै त हामी लेख्न हौसिन्छौं, सुर्रिन्छौं । सकिन्छ भने लेखकिय धारलाई उध्याउन सटिक प्रतिक्रिया अर्थात् छरितो समालोचना दि��"ं भन्ने निवेदन पनि गर्न चाहन्छु ।
बगैंचा डट कमको तर्फबाट तपाईको विमोचित कृति 'युद्घ एम्बुसमा राइफलको सङ्गीत'को सफताको कामना गर्दै र तपाईले भन्न छुटेका बाँकि भनाईहरू छन् भने भनिदिनुस् र अन्तवार्तामा सहभागि भै दिनु भएकोमा धेरै धन्यवाद ।
बगैंचा डट कमका सम्पूर्ण परिवारलाई मेरो हार्दिक आभार साथै उत्तरोत्तर प्रगतिको शुभकामना समेत । मलाई र मेरा सृजनाहरूलाई पाठक सामु पुर्याउन दिनुभएको योगदान प्रति म सदा कृतज्ञ रहने नै भएँ । युद्ध एम्बुसमा राइफलको सङ्गीत यहाँहरूलाई कस्तो लाग्यो-जीवनको सङ्गीतजस्तो भयो कि भएन । जानकारी सम्म पाउन पाए म आफूलाई खार्ने मौका पाउने थिएँ । अन्त्यमा धन्यवाद, नमस्कार र विदा पनि । आलङ्ने सेवा ।