Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 15, 2009 | Author : Chetnatha Dhamala
Category : Review / समिक्षा | Views : 981 | Unrated

  
Chetnatha Dhamala

चेतनाथ धमला

 

परिचय

नेपाली साहित्यको क्षेत्रमा तीर्थराज वन्तको नाम अग्रस्थानमा आउँछ । उहाँको जन्म काठमाडौको ठमेलमा वि.सं. १९९६ असार १४ गते भएको थियो भने पुख्र्यौली घरचाहिँ गोरखा जिल्लाको बधुवा गाउँमा हो । सानै उमेरदेखि तीक्ष्ण  वन्तले राजनीति शास्त्रमा एम.. र कानुन विषयमा बी.एल. सम्मको अध्ययन गर्नुभएको छ । सरस्वती कलेज तथा वाल्मीकि संस्कृत महाविद्यालयमा केही वर्ष अध्यापन गर्नुभएका तीर्थराज वन्त कवि, अनुवादक, सम्पादक र मानवीय कानुनविज्ञ आदि विशेषणले सुपरिचित हुनुहुन्छ । उहाँको साहित्यिक केन्द्रीय व्यक्तित्वचाहिँ कवि नै हो । कविता, चोका, हाइकु र ताङ्का आदि उहाँका सिर्जनशील साहित्यिक काव्यिक विधा हुन् । उहाँका प्रकाशित कृतिहरू डाँडाबाट (कवितासङ्ग्रह -२०२७), रजस्वला: एक निराशा (कवितासङ्ग्रह -२०३७), आकाशमा सल्बलाएका हात (कवितासङ्ग्रह -२०४०), तुफूका केही कविता (चिनियाँ कविताको अनुवाद -२०२७), आँखामा हिजोको इतिहास (कवितासङ्ग्रह -२०५३), शब्द सोपान (कवितासङ्ग्रह-२०५७) र ज्योति-त्रि-पुञ्ज (हाइकुसङ्ग्रह-२०६१) रहेका छन् । वन्तको सामाजिक व्यक्तित्व पनि मानवीय मूल्य र मान्यतामा केन्द्रित देखिन्छ ।

उहाँ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको कार्यकारी निर्देशक हुनुका साथै करिब ३८ वर्ष अवैतनिक सल्लाहकारका रूपमा पनि सेवा प्रदान गरिसक्नुभएको छ ।

रेडक्रसमा रहेर वन्तले मानवीय सेवाको विषयवस्तुमा लामो अनुभव सागाल्नुभएको छ । अन्तर्राष्ट्रिय मानवीय कानुनका ज्ञाता वन्तले नेपाली परिप्रेक्ष्यमा मानवीय कानुनको सिद्धान्त, दर्शन, व्यवहार र प्रयोगसम्बन्धी पुस्तक र लेख रचनाहरू प्रकाशन गरेर जीवनपयोगी नैसर्गिक अधिकारलाई विषयगतरूपले चर्चा र परिचर्चा गर्नुभएको छ । उहाँको त्यस योगदानले नेपाललाई ठूलो गुण लगाएको छ भने आफैमा स्रोत व्यक्तित्व पनि बन्नुभएको छ । त्यस विषयवस्तुमा आधारित उहाँका कृतिहरू रेडक्रस : एक चिनारी (सम्पादन-२०२९), रेडक्रस र मेरो देश (अनुवाद, सन् १९७१), रेडक्रस प्रश्नोत्तर, जेनेभा महासन्धि तथा तिनका अतिरिक्त सन्धिपत्रहरूसम्बन्धी आधारभूत नियमहरू (अनुवाद-२०५६), अन्तर्राष्ट्रिय मानवीय कानुनको संक्षिप्त परिचय-२०६०, हेनरी ड्यूनाद्वारा लिखित सल्फेरिनोको सम्झना (अनुवाद-२०६०), मानव अधिकार तथा मानवीय कानुनः व्यावसायिक सुरक्षाको अवधारणा (अनुवाद-२०६०) प्रकाशित रहेका छन् । हाल उहाँ नेपाल अपाङ्ग सङ्घको महासचिव पदमा कार्यरत हुनुहुन्छ । यसरी साहित्य र समाजसेवामा निरन्तर साधनारत वरिष्ठ व्यक्तित्व वन्तले नेपाली जीवन र जगतलाई अविष्मरणीय यात्रामा डोर्याउनुभएको छ । चर्चा र परिचर्चाबाट सधैं विमुख रहने स्रष्टा वन्तको यो योगदानको सही मूल्याङ्कन हुनुपर्छ ।

 

कृतिबारे

तीर्थराज वन्तद्वारा रचित "ज्योति-त्रि-पुञ्ज" नामक हाइकुसङ्ग्रह २०६१ सालमा प्रकाशन भएको हो । झट्ट हेर्दा सङ्ग्रहले सूर्य, चन्द्रमा, तारा आदिको चम्काइबाट उत्पन्न हुने तेज (प्रकाश)को समूहगत वस्तुको उपस्थितिलाई व्यक्त गरेको अनुभूति हुन्छ । तर बिम्बात्मकरूपमा ५--५ गरी तीन हरफ र १७ अक्षरमा सिर्जित हाइकुको क्रमबद्ध पुञ्ज (वस्तुको कुनै समूह) लाई आत्मसात् गरिएको हो । प्रत्येक हाइकुमा ऋतुबोधक (किगो) बिम्बको प्रयोग गरिन्छ । जसमा प्राकृतिक विषयवस्तुसँगै सांस्कृतिक बिम्बले पनि व्यापकरूपमा समयको चित्रण गर्दछ । प्रस्तुत सङ्ग्रहमा समेटिएका हाइकु र हाइकुजस्ता रचनालाई लघुकविताका रूपमा, सुन्दर र मार्मिक ढङ्गले पस्किुन भएको छ । २०५९ माघदेखि प्रारम्भ गरेर २०६० भदौसम्ममा ८ महिनाको बीचमा रचिएका ६ सयवटा हाइकु यसमा छन् । यति छोटो अवधिमै सङ्ग्रहका रूप दिन सफल वन्तको तीक्ष्ण क्षमताको कदर गर्नैपर्छ । हाइकुजस्तो गम्भीर विधालाई अविरलरूपमा पस्किनु अवश्य पनि सामान्य होइन ।

हाइजिन वन्तले आकाश, तारा, धरा, पानी, शीत, उषा, बादल, सूर्य, फूल, बिहान, हिउँ, आगो, हुरी, बतास, हावा, आँसु, वसन्त, क्षितिज, शिशिर, गुराँस, इन्द्रेनी, इन्द्रधनुष, गुलाफ, जुनकीरी, काँचुली, भुमरी, सन्ध्या, समुद्र, झरी, नदी, वन, पहाड र फेवाताल आदिलाई हाइकुभित्र बिम्बका रूपमा सम्प्रेषित गर्नुभएको छ । जुन गहन र भावपूर्ण छ । सामान्य मस्तिष्कले हाइकु बिम्बमा देखापर्ने बहुआयामिक मर्मलाई बुझ्नु भनेको पनि जटिल शल्यक्रियालाई सफल पार्नुजत्तिकै चुनौतिपूर्ण छ । वन्तका हाइकुभित्र निरन्तर गुञ्जिरहने लय, अर्थ, भाव, कला र अनन्त सौन्दर्यको गहिराइभित्र डुबुल्की मार्न खोज्नु उपयुक्त हुनेछ । बिम्बको पुनर्रूक्ति पनि वन्तले व्यापकरूपमा गर्नुभएको छ । जस्तै:

आकाशभरि

साँध सिमाना छैन

मान्छेको पृथ्वी ! -२२९)

हाइकुले अनुभूतिजन्य उन्मुक्तिको खोजी गरेको छ । कृत्रिम पर्खाल र निहित स्वार्थको मार्मिक चित्रण गरिएको छ । पृथ्वी र आकाशबीचको विशाल अन्तरलाई प्रवृत्तिगतरूपमा प्रहार गरिएको छ ।

उस्तै-उस्तैरूपलाई प्रदर्शन गरेजस्तो लागे पनि यथार्थ भिन्नै छ, अर्को हाइकुमा :

       आकाशभरि

       उड्ने शोख नै मेरो

       तर पखेटा... !

अपसोच ! मान्छेका असीमित चाहनाको उडान कति तरङ्गित भइरहन्छ । कल्पनातीत क्षमताले जे निर्मित गरे पनि मान्छेको अभीष्ट खुट्किलो नहुँदा तुहिँदोरहेछ । स्वयम् यात्री गन्तव्यविहीन पीडाबाट छटपटिरहेको छ ।

वास्तवमा छोएछोएजस्तो, सुनेसुनेजस्तो, बुझेबुझेजस्तो र देखेदेखेजस्तो अनुभूति हुनुलाई बौद्ध-जेनमार्गी हाइकुकारहरू गौरव गर्दछन्, यहीँनेर रिक्तता उत्पन्न हुन्छ । त्यो खाली ठाउँलाई सिर्जनाका रूपमा उभ्याउँछन् । आफ्नै अनुभूतिको जीवन कोरिदिन्छन् । उनीहरू थोरै शब्दको सहायताले धेरै भन्न रूचाउँछन् । विश्व प्रसिद्ध जेन हाइजिन बासो (इ. १६४४-९४) को एउटा हाइकुलाई पढौँ :

       वर्षा समाप्ति

       टोप परालकै हो-

       तर, स्यान्डिल... !

तर नेपाली हाइजिन वन्तले पनि आफ्नो अघिल्लो हाइकुमा जे व्यक्त गर्नुभएको छ त्यो हृदयस्पर्शी, सुन्दर र कलात्मक उचाइरहेको छ । हाइकुमा हुने प्रचुर सम्भावनाको द्वार खुल्लै रहेको छ ।

अब ज्योति-त्रि-पुञ्जबाटै वन्तका इन्द्रेणीसम्बन्धी दुई हाइकुलाई हेरौँ :

  आकाशभरि                    .     शान्तिको भाषा

       इन्द्रेनीको हारमा                    स्वर्गबाट झरेको

       सत्य शृङ्गार ! -५५३)            इन्द्रेनीबाट ! (४९२)

उपर्युक्त दुवै हाइकुमा इन्द्रेनी, बिम्बका रूपमा प्रयोग गरिएको छ जुन सङ्केतले वर्षा यामलाई बोध गर्दछ । सूर्यको विपरीत दिशाबाट वर्षायाममा रङ्गीबिरङ्गी (सप्तरङ्गी) दृश्य पैदा हुने गर्छ । त्यसले हाइकुको अर्थ-सामर्थ्यलाई सहजै प्रस्ट्याउँछ । तर समान शब्द र बिम्बलाई उस्तैरूपमा चयन गरिएको छ तापनि यी दुवै हाइकुको भिन्न स्वरूप र स्वभाव रहेको छ । पहिलो हाइकुले वर्षायामको प्राकृतिक सौन्दर्यलाई जीवन्तरूपमा चित्रण गरेको छ । पछिल्लो हाइकुले प्राकृतिक र सांस्कृतिक परम्पराको निर्वाहलाई धान्न पुगेको छ । तसर्थ, स्थानपिच्छे शब्द-बिम्बको मूल्य र मान्यता नै गतिशीलरूपमै भिन्न हुन्छ । पछिल्लो हाइकुमा किन ? भन्ने प्रश्न उठ्न सक्छ, जुन कौतुहललाई यसरी पुष्टि गर्न सकिन्छ :

पहिलो हरफको विषय आगमन नै "शान्तिको भाषा"बाट प्रारम्भ भएको छ । "स्वर्गबाट झरेको" भन्ने दोस्रो हरफको अभिव्यक्तिले स्वयम् हरफीय सामिप्यलाई उनिदिएको छ । तेस्रो हरफ "इन्द्रेनीबाट"ले आश्चर्य प्रकट गरेको देखिन्छ । मूल कुरो हिन्दू धर्म, संस्कृति र परम्परामा "स्वर्ग"लाई अमनचयनले भरिपूर्ण सत्ताका रूपमा उभ्याएइको छ । जुन आस्था आनन्दका रूपमा, मनोरञ्जनात्मक क्षण प्रतिबिम्बित भइरहेको छ । इन्द्र धनुषसम्बन्धी हाइकु :

       इन्द्र धनुष                            आफै भएछु

       घाम-पानीको सृष्टि                आफ्नै इन्द्रधनुष

       सुन्दर कृति ! (५२६)           तनमनले ! (५३०)

माथि इन्द्रेनीका विषयमा चर्चा र परिचर्चा गरिए पनि उस्तैजस्तो लाग्ने इन्द्रधनुषको प्रकटीकरणको चमत्कारलाई आत्मसात् गर्ने प्रयत्न गरिएको छ । सप्तरङ्गी विलयका रूप हो । यसले अर्धवृत्त स्वरूपलाई सुन्दररूपले सिर्जना गरेको छ । जुन इन्द्रधनुषको सबल रूप हो । अन्तर्मनको उडानले प्रचुर कल्पना- शीलतालाई उधिनेको छ । तर पछिल्लो हाइकुले आफ्नै यात्राका तरङ्गहरूको कम्पितरूपलाई गम्भीरतापूर्वक पैदा गरिदिएको छ । अवश्य पनि अघिल्लो भन्दा पछिल्लो हाइकु स्वयम्मा हृदयस्पर्शी, अभिव्यक्तिजन्य र सिर्जनशील देखिन्छ ।

प्राकृतिक चक्रमा वसन्तलाई ऋतुहरूकै सर्वोत्कृष्ट र प्रथम ऋतु मानिन्छ । पालुवाहरूको कलिलो स्पर्श, फूलहरूको आकषिर्त चुमाइ, भमराहरूको मुस्कान र आत्मिक सरीकताबाट को चाहिँ मन्त्रमुग्ध नभई बस्न सक्ला र ? एकातिर प्राकृतिक सौन्दर्यको भावपूर्ण वर्णन छ, अर्कोतिर अर्थगत सन्दर्भहरूको प्रेम छ, प्रणय छ, मिलन छ, बिछोड छ, अनेकौँ कुण्ठा र पीडाको दीर्घ यात्रासँगै अमिलो दह पनि जमेको छ । जुन एकाध हाइकुहरू, जस्तै :

       आयो वसन्त                          वसन्त बोली

       फुल्नै नपाई झर्यो               अझै कुर्दैछ होली

       पीडा फूलको ! (९०)            मायालु आँखा ! (१७०)

प्रेम र प्रणय एक आपसमा परिपूरक हृदय नै हुन्, जहाँ जीवनको निरन्तरताको चित्र कोरिएको हुन्छ र एउटा सिङ्गै वृत्तान्त निर्माण आफै भइदिन्छ । कसैका लागि त्यो सुन्दरता र भावुकता एउटा खुल्ला पुस्तक हुन जान्छ । एकाध मान्छेहरू अहिले पनि अश्लीलताका विरुद्धमा अराजकता पस्किन तम्तयार नै छन् । तर वन्तले व्यक्त गर्नुभएका शृङ्गारिक उद्गारहरू शिष्ट भाषाशैली, सुन्दर र कलात्मक प्रयत्नमा नै छन् । जस्तै :

       किशोरीहरू

       आफ्नै गुम्बाको ऐना

       हेर्दै मस्केर ! (५९३)

अन्त्यानुप्रासयुक्त हाइकु :

हाइकु प्रयोगधर्मीका रूपमा तीर्थराज वन्तले आफूलाई पनि उभ्याउन सफल हुनुभएको छ जुन हाइकु लयात्मक, कर्णप्रिय र मिठास सिर्जनाका रूपमा झङ्कृत भइरहेका छन् । कला र गलाले सुसज्जित हाइकुहरूमा वन्त :

       रात तातेको                          नदी सुकेन

       मान्छेहरू मातेको                 प्रकृति चितवन

       भोग काटेको ! (३०)            रूख झुकेन ! (१३२)

 

       म र कविता                        कोरियो धर्का

       मनभित्रै सरिता                     यो धरतीको मर्का

       मेरै रमिता ! (२०६)            समस्या चर्का ! (११२)

हाइकु मूलरूपमा आकस्मिक, संवेगात्मक र चित्रात्मक दृष्टान्तले झङ्कृत भएको देखिन्छ । रहस्यात्मक र गहनशैलीको आधिपत्य कतिपय हाइकुकारहरूमा पनि भेटिन्छ । समयको स्वरूपलाई सरल र नवीनरूपले उद्घाटित गरेको हिँउदेयामलाई चित्रित हाइकु पढौँ :

       शीत बिन्दुमा

       झल्किरहेको उषा

       चित्र स्नेह ! (६)

त्यसैगरी वर्षेयामको आगमनलाई प्रतिबिम्बित गरिएका हाइकु हेरौँ :

       नानी आँसु

       मुसलधारे वर्षा

       बाढी पहिरो !

पाठकहरूको विश्लेषणीय तरङ्गलाई चातुर्यपूर्वक वन्त बहुअर्थ र मर्मबोध हुनेगरी एक ठाउँमा यसरी व्यक्त हुनु भएको छ :

       मेरो धरामा

       पानी-पानी भएर

       नाचिरहेछु !

दोस्रो हरफ "पानी-पानी भएर"ले समग्र हाइकुको सामर्थ्यलाई अठ्याएको छ । यो नै हाइकु आत्मा हो । भयग्रस्त, गलित समय र काल, परिस्थितिलाई अनुभूत गरिएको छ जुन अभावग्रस्त र जर्जर कथा-व्यथाहरूलाई लुकाएर भए पनि अमिलो मुस्कान छर्नेहरूको मार्मिक अभिव्यक्ति हो । यसले वर्गीय दृष्टान्तलाई पर्गेल्दै जीवन सौन्दर्यलाई यत्रतत्र बिम्बित गरेको देखिन्छ । हाइकुको अनन्त सम्भावना पनि यही हो ।

 

दृष्टिकोण :

विश्वभरि नै लोकप्रिय भइसकेको हाइकुलाई कुनै चुट्काका रूपमा मात्रै हेरिनु दृष्टिभ्रम हो । हाइकुले एकोहोरो प्रकृतिको मात्रै स्तुति गाउँछ भन्ने मान्यता पनि गलत हो । आफैमा हाइकु विशाल सूक्ष्मकाव्य हो । हाइकुलाई बुद्धि विचारको दर्शनले थिच्नु हुँदैन भन्ने परम्परागत मान्यता अहिले जीर्ण भइरहेको देखिन्छ । क्षणिक झट्कालाई आकस्मिकरूपमा उमार्ने वर्तमान अनुभूतिका रूपलाई सिर्जनामा व्यक्त गरिन्छ तापनि अतीतको आगमनलाई पनि भुल्न सकिँदैन जस्तो लाग्छ । जुन जीवन र जगतका यथार्थ चित्रण आजका हाइकु विषय बनेका छन् । वन्त क्रान्ति र विध्वंसका रूपलाई सिर्जनामा उनेर नयाँरूपमा उदाउनुभएको छ । जस्तै :

       सृष्टिको फूल                        हुरी बतास

       किचियो समरमा                  ढलेछ ठूलो रूख

       हृदय शूल ! (५८५)            किचियो देश ! (१९२)

हाइकुजस्तै संरचनामा कुँदिने सेन्युको सिर्जनाले आफ्नो सङ्ग्रह "ज्योति-त्रि-पुञ्ज"लाई वन्तले एकाध ठाउँमा सुटुक्कै सिागार्न सफल हुनुभएको छ । सेन्यु पनि हाइकुजस्तै सूक्ष्म र लघु रचना हो, जुन हाइकुमा ५--५ र तीन हरफको बाह्य संरचना मात्रै रहन्छ र आन्तरिक संरचना शास्त्रीय मान्यताबाट मुक्त हुन्छ त्यसलाई सेन्यु भनिन्छ जसमा प्रकृतिको दर्शन र ऋतु (किगो) बोधक बिम्बको प्रयोग हुँदैन । यस्तो लेखनशैलीलाई व्यङ्ग्यात्मकरूपमा पस्किने गरिन्छ । जस्तै :

       सपना बेच्ने                           अभय दान

       लामो-लामो भाषण                 राजा त्रिभुवनको

       जिल्ल जनता ! (२८९)          पीडामा प्रजा ! (३३)

       मान्छेको घर                          आँखा छोपेर

       सजिलैसँग भत्क्यो                  अधिनायकहरू

       मान्छे भत्केन ! (१७२)          मत पोल्छन ! (४७९)

 

       उस्को लासमा                       कुरूक्षेत्रमा

       दाउ लाग्यो नेताको              युद्ध नगरा बज्यो

       आँखा रमायो ! (२०)            भ्रमित मन ! (७६)

उपर्युक्त सेन्युहरूले वर्तमानको विकृति, विसङ्गति र अन्योलग्रस्त नेपाली समाजको यथार्थ चित्रण गरेको पाइन्छ । हाइजिन तथा सेन्युकार वन्तले मानवीय संवेदनाका विषयगत विविधतालाई गम्भीररूपमा पस्किनु भएको छ । छेपारे प्रवृत्तिले ग्रसित नेताहरूको जीवन कहानीलाई जीवन्तरूपमा अङ्कित गर्नुभएको छ । आँपको थेपेजस्तै थिलथिलिएको द्वन्द्व र भयग्रस्त अनुभव र अनुभूतिलाई सुस्पष्ट चित्रण गरेका ती सेन्यूहरूले रित्तो आश्वासन, विषम परिस्थितिलाई विषयगत विविधताले प्रस्ट्याएको छ । वन्तले रोचक, घोचक र घतलाग्दो शैलीमा व्यङ्ग्य, सेन्युलाई पस्किनुभएको छ ।

हाइकु मूलतः ५--५ गरी तीन हरफ र १७ अक्षरमा रचिने गरिन्छ जसको बाह्य संरचना भन्नु नै पहिलो हरफमा ५ अक्षर, दोस्रो हरफमा ७ अक्षर र तेस्रो हरफमा ५ अक्षरको उपस्थिति हो । हाइकुको आन्तरिक संरचना अन्तर्गत पहिलो हरफले विषय प्रारम्भ गरेको मानिन्छ, दोस्रोले विषयगत सामिप्यलाई व्यक्त गर्दछ भने तेस्रो हरफले आश्चर्यजनक कम्पन पैदा गर्दछ । साङ्केतिक सम्बोधन स्वरूप अन्तिम हरफमा आश्चर्यबोधक चिह्नलाई प्रयोग गरिन्छ । अनन्त सम्भावनालाई ध्यानमा राखेर हाइकुको शीर्षक राखिँदैन । यसलाई मूलतः अनुभूतिजन्यरूपमा लिइन्छ । अक्षर र हरफ मिल्दैमा हाइकुका रूप आउँदैन, हाइकु नै हुनको निम्ति आन्तरिक र बाह्य संरचना आफैमा स्वस्थ हुनुपर्दछ ।

लामा-लामा कवितामा जस्तै हाइकुमा पनि बिम्ब विधान र विषयवस्तुको विविधता हुने गर्दछ, भने दर्शनका रूपमा प्राकृतिक, ऋतुबोधक शब्द नै बिम्बका रूपमा प्रयुक्त गरिन्छ । हाइकुको यो मूलतः शास्त्रीय मान्यता हो जुन मूल्यमान्यताले हाइकुकार वन्तले पनि हाइकु रचना गर्नुभएको छ, उहाँका ती लघुतम हाइकु सेन्युमा सुस्पष्ट कालचेतना, जीवनचेतना, कलाचेतना र सौन्दर्यचेतना झल्किन्छ भने विषयवस्तुको मूल प्रवाहले वर्गीय दृष्टान्तलाई व्यक्त गरेको पाइन्छ । आफ्नो सिर्जना यात्रालाई हाइजिन वन्तले आगामी दिनमा पनि निरन्तरता दिई आफ्ना पाठक र शुभेच्छुकको तिर्खालाई मेट्नु हुने नै छ ।

 

ओखलढुङ्गा

मोबाइल : ९८४१७२४२१८




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाई
स्यालोट ठोक्नु पर्छ भने,
हजूरको विदेश भ्रमण

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688013
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com