परिहास
यो देश, लडेको आदिम ढुङ्गा नअडिने
ब्वाँसाहरू खानेखेल्ने ��"इलेनी पखेरा'।
तल जति आँखिभौं तन्काए'नि
आँखाले नभ्याउने भयङ्कर खोंच
माथि चढ्नै नसकिने भयानक ढुङ्गे पहाड
दिन बिग्रे कुनै पनि समय
अलिकति खुट्टा चिप्लियो कि त
अडिने ठाउँ कहीँ कतै नभएको...
भीरनेर महादुःखले काटेका आङ सिरिङ्ग्याउने बाटाहरू
कहिले तानिन्छन् पहिरोले तल, तल तिर
कहिले पुरिन्छन् पहाड खसेर माथि, माथिबाट
र बर्षौंदेखि बटुवा गन्तीमा झैं बसेको बूढो रुखको ठुटो
पहिरोसँगै हराउन सक्छन् मेरो तालु घोटेर
भैरबनाथ गणमा बेपत्ताहरूको
चास उल्टाउन कुनै पनि साँझ ।
अराजकताको चरम उत्कर्षले
राजीनामा दिइरहेछन् जी-वनबाट
जीवनका 'फ्युचर प्लान' भाँच्दै सपनाहरूले भाँच्दै... भाँच्दै...
आक्रोशित चाहानाहरू 'आउट अफ् अर्डर' भएर
भत्काइरहेछन् मानबताका रेलिङ्हरू भ त् का इ र हे छ न्...
र फुटपाथनेर आफ्नो भोक दलालीमा बसेका छन् पसलहरू
खोजिरहेछ बतास पनि यहाँ पलायनका दिशाहरू ।
मेचीकाली फैलिएर
खङ्ग्रंग ढलिरहेछ देश
सुख्खा राज्य ब्यबस्थाले झन् झन् चर्किरहेछन क्षेत्रहरू
किसानहरू उहिले शासकहरूले नष्ट गर्न नभ्याएका
इतिहासका लाहाछाप ताम्रपत्र देखाएर
छरिरहेछन् नाराहरू
आफ्नो राज्यका सिंचाइ योजनाले कहिल्यै नभिजेको ��"इलेनीमा
र साँध किल्ला बाँधिरहेछन्
संधियार नक्साको फैलावट छात्ति ठोक्दै ।
यी भ्यागुता- दलहरूको गर्जमान जाँतो
यी सशस्त्र समुहहरूको स्वचालीत घट्ट
र यो सरकारीय बिलाशी ढिक्कीले
कहिल्यै बुझ्न चाहेनन् मलाई
जिन्दगी भकुण्डो होइन
त्यसैले बिधानबाट कहिल्यै नपाएको
आत्म निर्णयको अधिकारको प्रथम उपयोग स्वरुप
आत्महत्या गर्न गइर'को छु । |