मोहन गुरुङ्ग
खोटाङ्ग, हाल-हङकङ
असारेको ठूलो तोक्मा
कुन छोराको अंश थियो
पात चोयालाई खिपी खिपी
बुनेको त्यो ढाकरलाई
कहिले देखि ध्वाँसो लाग्यो
भनि देऊ न ढाक्रे दाइ
कुन छोराको अंश थियो
कहिले देखि ध्वाँसो लाग्यो !
आलुदम र चाम्रे भातलाई
पोको पारी झोला बोकि
हलेसी थान दर्शन गर्न
जान छाडी कहिले देखि
गाडी चढी जान थालेउ
चिनी किन्न दिक्तेल बजार
भनि देउ न लिम्दे नाना
कहिले देखि जान थालेउ
गाडी चढी दिक्तेल बजार !
हुलाकीको चिठ्ठीलाई
पटुकीमा घुसारेर
जन्तरेको चिठ्ठी आमा
भन्दै खोली पढ्ने गर्थ्यो
झुक्किएउकी झुक्किइनौ
देख्दा खेरी पहिलो चोटी
टेलिफोनलाई रेडियो भनि
चिन्न पनि छाडेउ होला
पाँच मुखे सुर्के थैली
केमा बोक्ने गर्छ्यौ आजकल
मोबाइलको पुन्टे सेटलाई
भनि देउ न पकु गान्टी
केमा बोक्ने गर्छ्यौ आजकल
मोबाइलको पुन्टे सेटलाई !
खोल्सा खाल्सी कल्चुँडाले
कराउदा नि काइला पुरेत
टुप्पी ठाडो पारीकन
तीन चार कान्ला चट्टै काटी
मरे मरे भनि भाग्ने
जोर ��"लाले उति भन्दै
आकाशको हेलिकेप्टर
जता गयो त्यतै हेर्ने
कसो गरी हेरी रह्यौ
ट्याट्ट टुट्ट हरन बजाई
धुलो उडाई गाडी आउदा
भनि देउन साइला बाबै
सातो पुत्लो उडिकन
विमारी नै भयौ होला
विचरा त्यो साइला पुरेत
धुलो उडाई गाडी आउदा !
उ जमानाको कस्तो गाँठे
सबै भन्थे बसाई जाने
मैले सुने त्यसैलाई
दशारीको दशा भने
त्यही दशाले हुत्याएर
गावै छाडेँ देशै छाडेँ
भनि देउ न साथी सङ्गी
अब कुन साल घर फर्की
सिबीसेलाई भट्याउन लगाई
उफ्रिपाफ्रि कराउँदै
रातै काटी देउसी खेल्ने
मरेबाँचे के को मतलव
कथाको त्यो बलिराजा
चिरन्जीवी भई बाँचुन
मेरै आमा मेरै आपा !!
शब्द अर्थहरू
तोक्मा : टेकुवा
लिम्दे : साइली बहिनी (चाम्लिङ्ग राई भाषामा)
नाना : दिदी
पकु : माइली बहिनी (चाम्लिङ्ग राई भाषामा)
बाबै : काका -राई भाषामा)
सिवीसे : कान्छो भाई (दुमी राई भाषामा)
आपा : पिता (चाम्लिङ्ग राई भाषामा) |