Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 23, 2008 | Author : रविन राई
Category : Memoir / संस्मरण | Views : 979 | Rating :

  
रविन राई

प्रिय ! तिमीलाई थाह होला, तिम्रो हङकङमा "र्लदा म हर्ष र चिन्ता दुवै बोकेर झरेको थिएँ । तिमीलाई पाउनुको खुशीमा स्वदेश र स्वजनसँग दूरी बढ्नुको पीडा मिसिएको थियो । नयाँ भविष्य कोर्ने उत्साहमा पुरानो भूतको छायाँ मडारिएको थियो । केही पाउनु र गुमाउनुको मिश्रीत मनोदशामा म थिएँ ।
 

पोखराको  वातावरणमा सधिएको मेरो शरिरलाई काठमाण्डौको जाडोले दया गरेन । रुघाले ज्वरो नै खन्यायो । साथीभाइलाई राम्ररी गएँ है भन्न पनि पाइनँ । राति ९ बजे त्रिभुवन विमानस्थलमा पसेर  सुरक्षा जाँच गराएपछि बसी बियाँलोको  क्रममा साहित्यकार शुभ मुकारुङ्गसँग पुनर्परिचय भयो । वहाँ मेरो गायक काकाको मित्र भएकोले धेरै वर्ष पहिले नै मैले अंकल भनेर नमस्ते टक्र्याएको हुनुपर्छ भन्ने कुरा हामी दुवैले अनुमान गर्यौं। कुराकानी गरेर यात्राको असहजता हटाउने धुन गरें । मुकारुङ्गजी (अंकल) साहित्यिक कार्यक्रममा सहभागी हुन आउनुभएको रहेछ । सेक्युरिटी जाँचमा वहाँले बोक्नु भएको सीडीहरूको कारण केहीबेर मुकारुङ्गजीलाई झिंजो भयो । हङकङ एक्सप्रेसको विमानमा पोखरेली गुरुङ्गनी आमासँग मेरो सीट पंखनेर नै परेछ । धेरै पानी पिउने तिम्रो निर्देशन अनुसार मैले ४, ५ कप चाइनीज टी पिएको थिएँ र पनि करीब ५ घण्टा लामो यात्राबाट अवतरण हुने बेलामा कान दुखेर असह्य नै भएको थियो । लामबद्ध भएर पासपोर्टमा टाँचा लगाउने क्रममा इमिग्रेशन अफिसरको रुखो बोली र ब्यवहारले मलाई कर्ण शाक्यको सोंचमा उल्लेखित अमेरीका प्रवेशको क्रममा भेडा बाख्राझैं गरिने ब्यवहारको प्रसंग याद दिलायो । मलाई सोंच्न कर लाग्यो यो सम्पन्न मुलुकका नागरिकले विपन्न मुलुकका नागरिकलाई हियाउने ब्यवहार हो वा बढ्दो जनसंख्या नियन्त्रण गर्ने राष्टिय नीति । विमानस्थलमा मुकारुङ्गजीलाई स्वागत गर्न रामकृष्ण बान्तावाजी बुके लिएर बस्नु भएको रहेछ, वहाँको तस्वीर पनि लिइरहनु भएको थियो । मुकारुङ्गजीले "कता हिँडेको" भन्ने गीतको रचनाकार भनेर परिचय गराइदिनुभयो । मैले वहाँको मोबाइलबाट तिम्रोमा सम्पर्क गर्दा तिमीले "आउँदैछु" भनेकी थियौ । तिमी आउन बेर हुने बुझेर विमानस्थल भित्रै आफ्नो लगेज छुटाएर आतिरहनु भएका दुई दिदीहरूलाई सह्योग गर्न लागें ।  तिमी मलाई खोजिरहेकी रहेछौ, बिरानो यो ठाँउमा ६ महिनापछि तिमीलाई भेटेपछि मनलाई धेरै राहत भयो ।
 

तिमीले एक हप्ते छुट्टी लिएर मलाई तिम्रो हङ्गकङ्ग देखाउँदा पनि यी धरहराभन्दा अग्ला मौरीका चाका जस्ता घरहरूबीच बाटो पहिल्याउन सकिरहेको थिइनँ । सबिन दाइले भने झैं मकैबारीमा चल्ला हराए जस्तो अनुभव गरिरहें । यहाँको भाषिक समस्याले लाटो बनाएको थियो -र छ ।
 

राति सेक्युरिटी बस्दाको अनुभव सुनाउँदै हाङ्ग बडाले हाँसोको क्रममा भन्नुभएको थियो "उनीहरूलाई नेपाली आउँदैन, हामीलाई चाइनिज आउँदैन, अंग्रेजी दुवैको बराबर यस, नो र खै के के अनि के गफ गर्ने चुप लागेर आफ्नो ड्यूटी गर्ने ।"

समुद्री सुरुङभित्र दौडिने अत्याधुनिक एम टि आर र अक्टोपस कार्ड देखेर छक्क परेको थिएँ । कति धेरै सुविधा र ब्यवस्था, पार्क, पुस्तकालय, खेल मैदान, बैंक, सवारी, शौचालय । मानव सीप, सोंच र प्रविधिको सिर्जनाको सामु देव कालिगढ विश्वकर्मा नै माथ खालान् झैं लाग्ने । समुद्र पुरेर बनाइएको विमानस्थल, पहाडमाथि पहाड झैं महलहरु । मान्छेले आँटेर दैवले पु-याएको यो देश भौतिक विकासको चरम उत्कर्षमा भए झैं लाग्यो । तिम्रो स्वचालित हङकङको नशाले मलाई नराम्ररी छोयो । मानिसको वशमा परेको समुद्र देखेर ताजुब लाग्यो ।
 

यहाँ बेरोजगारीको अवसरमा मैले धेरै चिन्ता र चिन्तन पाएँ । यहाँको विकास र मेरो देशको अविकासलाई सँगसँगै उभ्याएँ । तिम्रो हङकङको विकास सगर छुने गरी चुलिएको रहेछ, मेरो नेपालको विकास धुलोमा नै छ । तिम्रो  हङकङ एसियाको वल्र्ड सिटी भनी विश्वभरि कहलिएको । मेरो नेपाल गुमनाम देश । बुद्ध, सगरमाथा र गोर्खालीको वीरताको हवाला दिएर चिनाउनु पर्ने। तर पनि मैले तुलना गरिरहें । एकछिन  कोण बदलेर हेरें । घामले तातिएर पानी परेर भिज्दा आउने माटोको सुबास संझिरहें र धुलो माटो नदेखिने तिम्रो हङकङको दोषहरू केलाउन खोजें ।
 

मैले यहाँ देखें, पहाड झैं ठडिएका ब्यापारीक भवनहरू र जहिले पनि हतारमा दौडिरहेका मान्छेहरू । केही हराएका झैं ब्यग्र अनुहारहरू र मुस्काउन बिर्सेका ओठहरू । यी सबै देख्दा मान्छेहरू सुकिला त भए तर सुखिला हुन बिर्सेका जस्ता लागे । सदा हांगसेंग इन्डेक्सले बाँधेको रहरहरू देखेर अचम्भित भएँ, आधा जुनीसम्म नेप्से परिसूचक बुझ्न नपरेकोमा विस्मित भएँ ।
 

यहाँको विकास र अवसरहरूले नेपाली जीवनहरूलाई लोभ्याएको पाएँ, मेरो नेपाली स्वाभिमान तिम्रो हङकङको विशाल उपलब्धिका सामु लघुताभाषमा कुण्ठित भएको पाएँ । तर वास्तवमा जीवनलाई जति जटिल बनायो त्यति कठिन हुन्छ । सरलतामा बाँच्न पाउनु सौभाग्य हो र बाँच्न सक्नु कला हो  । जीवनलाई कालो र सेतो रंगमा परिभाषित गर्न सकिन्न, त्यस्तै सही र गलत तर्कले ब्याख्या गर्न पनि सकिंदैन । मात्रै ढिंडो र गुन्द्रुक खाएर हलो जोत्ने महले कान्छोलाई अरब गएर पैसा कमाउने बिछट्टै रहर होला तर पहाडी जीवनको आनन्द उसले कम उपभोग गरेको हुँदैन । घाँस दाउरामा पाखा थर्काउने गरी गाएका भाखाहरू, थाकेको बेला अमला र ऐंसेलुको स्वादमा धाराको चीसो पानीमा जीवनको मीठास घोलिएको हुन्छ । शनिबारे बजार भरेर चालिस रुपैयाँको नयाँ चप्पल र चुरा किनेर "ह्राली झरेकी चेलीको खुशी लाखौं रुपैयाँको एल भी झोला बोकेर संगमर्मरमा त्यति नै महङ्गो जुता बजाउँदै निस्कने म्याडमको खु्शी र आनन्दभन्दा कम पक्कै हुन्न । किन कि, सुख सापेक्षिक कुरा हो । 
 
मेरो नेपालको बाघ तर अमेरीकामा बाँदरको भिसा पाएर ग्याँस स्टेशनमा काम गर्ने मेरा डाक्टर साथीले भने "विदेशको विकास देख्दा स्वदेशका नेताहरूलाई टुँडिखेलमा लाइन लगाएर गोली हान्न मन लाग्छ"  । अमेरीकामै रहेका अर्का साथीले प्रतिवाद गरे, "सरकारी वृत्तिमा आफू डाक्टरी पढेर अमेरीका पलायन हुने अनि नेताहरूले बिगारे भन्नु मनासिब हुन्छ ?"  
 

मलाई दुवैको तर्क अनावश्यक लाग्यो किनभने नेपालको अवस्था स्वभाविक विकासको क्रमिक प्रक्रिया हो । आज परदेश लागेकाहरू भोलि नयाँ सीप र ज्ञान बटुलेर अवश्यै फर्कन्छन् । आज तिम्रो हङकङमा गगनचुम्बी भवन र नागबेली बाटा, पुल बनाइरहेका गोर्खाका सन्तान नेपालीहरू आफ्नो छाना छाउन फर्किने छन् । एक छाक माछा लिएर एक दिनको भोकबाट त्राण लिनभन्दा माछा मार्न  सिकेर अरु जस्तै म पनि मेरो दूधकोशीमा फर्कनेछु । अनि मेरो नेपाल पनि एउटा नयाँ बिहानीमा ब्यूँझनेछ । तिम्रो हङकङमा पनि रात नहोस्, "आफ्नो परिवारलाई माया र समय देऊभन्ने सन्देश एम टी आर स्टेशनमा टाँस्न नपरोस् , यन्त्र बन्दै गएका मान्छेहरू पुनः मान्छे बनून्, मेरो शुभेच्छा ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
हजुर म दिलबहादुर लिम्बू
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सन्की सिपाहीँको
यो सम्पतिले पुरिएको सहरमा
सयौँतले खण्डहरहरुको घुइँचोभित्र

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615004
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com