किरण भण्डारी
अनियन्त्रित दारी
अस्तव्यस्त पहिरन
हुलिया बेथातको
त्यसैले
हुलिया
कुनै पागलको जस्तो पनि हुनसक्छ
या कुनै दार्शनिक
वैज्ञानिक
फकिर
दरिद्र
उदास
लहडी
विद्रोही
या त कुनै देशको
कथित आतङ्ककारीको जस्तो पनि
हुलियाले कैयौं पटक
धेरैको मन श्रद्धाकासाथ झुकाएथ्यो
र कैयौं पटक
धेरैको मन संशयले तर्साएथ्यो
धेरैको मन इर्ष्याले पनि जलाएथ्यो
धेरैको मन पिरोलेथ्यो
घृणाएथ्यो
र कतिको मन ठट्टैठट्टामा पगालेथ्यो
तर एक दिन
त्यै दारी मान्छे
कुनै पलकको
एउटा अल्छे रात
आफ्नी सङ्गिनीसँग
आफैं झस्किएथ्यो
यदाकदा उ यसैगरी झस्कन्छ
हतासिन्छ
टुट्छ
गल्छ
र आफ्नो गुदी सत्य
झुसुले दारीले उजागर गर्छ
अनि सङ्गिनी भएको नभएको
मान्छे भएको नभएको
जोड घटाउ
प्रेमले गर्छ
अलिकति घृणाले गर्छ
किनभने
उसको दारी
बौद्ध दर्शनको
शून्यतर्फको अनन्त यात्रा हुनसक्छ
प्लान्कको क्वान्टम फिजिक्स
र आइन्स्टाइनको सत्य अन्वेषणको
भोयरिजम हुनसक्छ
कि त
ब्रह्मप्राप्तिको बाटो पनि हुनसक्छ
त्यसैले
ज्ञानप्रतिको उसको भोक र चेत
शान्त मुद्रा र दारीले छेड्दा
सङ्गिनी
दारीको गुढार्थ बमन गर्छिन्,
"छि... कस्तो ढेडु जस्तो देखिएको
ठयाक्कै होमोसेपियन्स जस्तो
हैनहैन ठयाक्कै अस्ट्रेलोपिथेकस जस्तो
छिटो... दारी काटिहाल"
मान्छे बनाउने
सङ्गिनीको दर्शन सुनेर
दारीवाल
मुसुमुसु हाँसिरहन्छ ।
|