मेरो आमाको चेप्टो सुन
सिरबन्दी र रेजी
खुट्टाको कल्ली
उहिले दरबारेलाई तिरो तिर्दा
खर्च भएको साक्षी
छड्के किनारामा
म भित्रको अलाहुरे मनले बकीरहन्छ ।
मेरो बाजे लाहुरे
बाउ पनि लाहुरे
म, मात्र लाहुरेको सन्तान
मेरो बाउको पेन्सनले
गर्जो टारेन
तक्मा र लालबुकले जंगल फाडेन
झोडाको औंलोलाई माथ् खुवाँउने
मेरो आमाको पौरख र
रात दिनको पसिनाले
म अहिले पनि बाँचेको छु ।
विवसताले गिजोलेको समय
त्यहि समयले लाएको कल्ली
अहम र बडप्पनको खै कुन झ्वाक्क्ले
म त लाहुरे हुनै पो सकिन
त्यो अलाहुरे हीनता
यदाकदा झुसिलो डकार झैं घाँटीमा आँउछ
त्यसैले दरबारेलाई सराप्दैछु
आमाको सुन फिर्ता गर्न नसकेर ।
चिराइतो मन लिएर
मेरो आमाले भन्छिन्
"कान्छा ! खै त तेरो भाकल ?"
म नाजवाफ छु
साँच्ची
त्यो चेप्टे सुनको सौन्दर्य
सिरबन्दीको शान
ढुंग्री र बुलाकीको औज्
धपक्क बलेको मेरो आमाको वैंशको तस्विर
मेरो अलाहुरे मनले खुब सम्झिरहन्छ ।
विश्व युद्धमा मेरो बाजेले देखाएको
विरताको कथा
बाउले लाएको छड्के टोपीको शान
अनि कम्ब्याट् युनीर्फमको आकर्षण
त्यो सप्पै सम्झिदा कुनै दिन
लाहुरे हुने झ्वाक्क पलाकै हो,
तर राइफलको वितृष्णा र
स्वभिमानको आदर्शले
न त लाहरे भइयो
न त आदर्शको मू्ल्य नै पाइयो
त्यसैले
आमाको चेप्टे सुन, सिरबन्दी, रेजी र कल्लीको भाकल
आज पर्यन्त
थाँती नै छ ।
नोट:
दरबारे - उहिले मधेशको जंगल फडानी गराई आवाद भइसकेपछि दरबारियाहरु आई जनतालाई तिरो तिराएकोले उनीहरुलाई दरबारे भन्ने चलन थियो । |