Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 01, 2009 | Author : नबिन विवश
Category : Memoir / संस्मरण | Views : 717 | Unrated

  
नबिन विवश

          फरक्क फर्केर हेरेँ क.क्षितिज मुसुमुसु हाँस्दै बलिदान जनकम्युन होटलनेरबाट झर्दैछन् क्यान्टोन्मेन्टबाट तिलाबजार ।

          बर्षदिनपछि माइत आएकी चेलीले माइती देशका चिनेजानेकालाई भेट्दा फुलेको मनजस्तै फुलेको छ मेरो मन ।

          (फरक थियो- यसपालि घोराहीको ब्यारेकमा न सरकारी चेक थियो न त तिलाबजारमा माओवादीको ।)

          'उः पल्लोछेउतिरकोमा हो म,' डाँडैभरि छापिएका 'जनमुक्ति सेनाको क्यान्टोन्मेन्ट'तिर देखाए । जहाँ उनी बस्छन् ।

 

          क्यान्टोन्मेन्टमै एकरात मज्जाले गफ गर्ने मेसो मिलाएको बताए । त्यतिखेरसम्म चिनेजानेका आफन्त र गाउँले छापामारहरू आइसकेका थिए-बहिनी सिन्कू, वीरेन्द्र, रामकला, मैसरा आदि । प्रायः पाँचौं डिभिजनमै थिए राप्तीका जनसेनाहरू ।

चियापसलमा पस्यौं ।

          भेटिएका आफन्तहरूसित एकसरो सन्चोबेसन्चो सोध्नुअघि नै उनले भने, 'न मनले लेख्न सक्छु न कलमले ।' 'हाट जाँदा लागेको ठेस सम्झी अँध्यारिएको कुनै हटारुको अनुहार 'जसरी क्षितिजको अनुहार फरक भयो, 'हलो पाँचकटियामा अड्क्यो ।' यति भनेर चिया पिउन भनी मुखमा पुर्याउन आधाबाटो लगिसकेको चियागिलास टेबलमै राखे ।

'बसीबियाँलो गर्दैछु ।' उनले फोनमा भनेको कुरा सम्झें, 'संस्मरण लेखिरहेको ।' महिना नपुग्दै संस्मरण लेखनको आधाबाटो आइपुगेछन् ।

'हलो अड्काउने रहेछ के ?! 'बक्क परेर क्षितिजलाई हेरेँ । मलाई हेर्न नसकेर आँखा उठाएर क्यान्टोनमेन्टमा लगे । 
 

***

          (घर उनको रोल्पा, जेलबाङ । लडाकूदस्ता, जनमिलिसिया, स्क्वायडहुँदै अहिले बटालीयन सदस्य । खास नाउँ मूलधन रोकामगर । उनी भूमिगत हुँदा १० मा पढ्दैथिए, रोल्पा, गजुलमा । त्यतिखेर रोल्पामा मुद्दाखेती हल्केको थियो । गाउँ नै उठेर तारिख थाम्न लिबाङ जान्थ्यो । कोही जेल पर्दैथिए । कोही तारिख नथामेर त कोही तारिख थाम्दाथाम्दै हुक्किहार भएर भूमिगत हुँदैथिए । कोही ज्यानको मायाले कालापार लाग्दैथिए । रोल्पाली पञ्चबाटोमा उभिएथे- कालापार वा जेल वा भूमिगत वा सदरमुकाम लिबाङ वा नजिकको प्रहरीचौकीमा बसेर सुराकी गर्ने ! क्षितिज मुद्दाको बिलो बोकेर तारिखै नथामी भूमिगत भएथे ।)

          हेर्दाहेर्दै थुर्पाधुरीमा घाम हतारहतार उक्लन लागेपछि रोल्पाली लोकगीत बल्झियो, 'घाम डुबी जान लाइ'गे सल्लीटुप्पा घाम छ, अलि दुगर पुत्ले घोरा साईंलाई भेट्ने काम छ ।'

तिलाबजारछवैमा छ, पाँचौं डिभिजनको एउटा टुकडी । त्यै टुकडीको ज्वार स्मृति बटालियनका क.क्षितिज ।

'लडाइाभन्दा कम्ति कठिन छैन क्यान्टोनमेन्टको बसाइ । जनताका घरमा बस्दा जनता कहिले रिसाउँथे कहिले खुसी । आखिर जनताकै लागि लडिरहेका थियौं नि ।' फोनमा क्षितिजले बताएथे- क्यान्टोन्मेन्टको असजिलो बसाइ । संचारमाध्यममा मौसमअनुसार समाचार फेरिंदैथिए- छापामारहरू पखालाले लम्पसार । हुरीले छाप्रा उडाउँदा छापामारको बिचल्ली । शीतलहरले छापामार लखतरान । आदिआदि ।
 

***

          कालापारेहरूको खासाको टेपको तालमा थुर्पाधुरी उकालिंदैथियो दसै पनि- जसरी पनि बास पुग्न- लोसेबाङ या ब्याङखोला या घर्तीगाउँ । अरबेहरू पनि गाडीबाट सुटकेस झार्दैथिए । भारतमा जिम्दारको 'गोर्खेबाँदर' घोकेका र खाडीमा बालुवासँग प्रेम र सपना लिलाम गरेर आएका रोल्पाली अनुहारहरू । गर्जो टार्न, आङको रङ फेर्न र हाँसोको खोजमा हिंडेका ती अनुहार खासाको टेपको धुनले सम्हाल्न खोज्दैथिए- जिम्दारका खुसी र खाडीका बालुवामा उडेका सपनाहरूलाई । टेपबाट बजारिया गीत आफ्नै सुरमा झरिरहेका थिए, 'म त प्यारी र्फकन्छु फर्कन्न, नाम सारे है पेन्सनपट्टामा ।'
 

***

          'होइन चिया त ...!' सुरुप्प पारेर निल्नु न ओकल्नुको मुडमा क्षितिजले भने, 'चिया त सिया भइसकेछ यार !'

बेनी, सन्धीखर्क, दुनै, घोराही आदि प्रायः कार्बाहीमा उनी सहभागी भए । गोलीको खत थियो दायाँ गोडामा । आधादर्जन छर्रासर्रा त शरीरमै थिए ।

'कहाँनेर हलो अड्क्यो ?' जान्न चाहन्थेँ । सोधें, 'पाँचकटियामा तपाईंकी प्रेमिकाको ...हो ?'

          'होइन ।'

          'सबैभन्दा मिल्ने कमरेडको ...?'

          'होइन ।'

          'तपाईंको सपना...?'

          'होइन ।'

          'तपाईंको चित्त ...?'

          'होइन ।'

          जाजरकोटको सदरमुकाम खलङ्गाबाट मच्चिएर हिंडे ३ घण्टामै पुगिने पाँचकटिया डाँडामा सानो बजार थियो । नजिकै- ठूली भेरी र सानी भेरीको संगम- रिम्ना । चौकीनजिकै पोखरी । सर्बसाधारणका घर पनि चौकीको काँडेतारभित्र पारिएका थिए । चौकीनजिकै आलुबारी थियो । पासाङको 'इतिहासका रक्तिम पाइला'मा पढेको थिएँ -२०५७ असार २९ गतेको त्यो दिन दिउँसोदेखि नै लगातार पानी परिरहेको थियो ।

          -युद्धबिरामपछि क्यान्टोन्मेन्टमा बस्न थालेको पनि एक बर्ष लागिसक्यो । छापामारहरू आफ्ना अनुभवहरू अक्षरमा उतार्दैथिए ।

          हेर्दाहेर्दै झमक्क साँझ ढल्यो । बास बस्नेहरू तिलाका होटलमा भरिन थाले -कालापारे, अरबे, दसैको रन्को बोकेर घरतिर हान्निएका बटुवाहरू ।

          कतै सोलार बले । कतै लालटिन । कतै टुकी । तर, अधिकांश बले 'माओवादी बत्ती' । दुइटा ब्याट्री हालेर बाल्नहुने टुकीलाई रोल्पामा माओवादी बत्ती भन्दारहेछन् । माओवादीका हातहातमा हुनेभएकाले नाउँ नै राखिएछ माओवादी बत्ती ।

          अगिल्तिर टेबलमा बल्यो, माओवादी बत्ती ।

          बत्तीको उज्यालोमा उनको भावुक अनुहार बोल्न थाल्यो-

          'सयौं लडाइँ लडियो तर ती बूढाबा र ती आमाछोरी ...' वाक्य पूरा नगरी एकाएक रोकिए । मानौं शाही सेना र छापामार घुम्तीमा जम्काभेट भए ।

          अम्खोराको पानी रित्याए । हातैले मुख पुछ्दै भने, 'पुलिस सर्बसाधारणका घरघरमा बसेका थिए । मानवढाल बनाएर लड्न चाहन्थे ।' ...

          'यसैले पो ती बूढाबा र आमाछोरी परे कि !' मेरो मन एकाएक सशंकित भयो ।

          मा��"वादी बत्तीको उज्यालोमा उनको भावुक अनुहार बोलिरह्यो, 'ती अनुभूति पोख्ने र पोखिने भाँडो नै छैन ।'

          उनी तर्केर त्यो विषयबाट जति भाग्दैथिए उति नै उनको मुहारमा पाँचकटिया छताछुल्ल पोखिन थाल्यो- गोली आइरह्यो -दुईतले घरबाट ।लडाइँ जितिसकेका थियौं । घेरा कस्दैजाँदा अघिल्तिरको आलुबारी खुल्लाचौरको साइडबाट कमरेडहरूलाई टेक्दै ७/८ जना भागेछन् । कोही भाग्दाभाग्दै मारिएछन् । धेरै फुत्किएछन् । सर्च गर्दैथियौं ।

गोली आइरह्यो, दुईतले सानो घरबाट ।

          पल्लोपट्टी के थियो -सर्बसाधारण थिए वा थिएनन् ? थाहा भएन । तर मेरो साइडमा त्यो दुइतले घरबाट गोली आइरह्यो ।

'साप्हरू ता यता प होइसिन्छ ।' गोली आइरहेको त्यै दुइतले घरबाट महिला आवाज आयो । सर्बसाधारण हुनसक्ने आशंकाले गोली चलाएका थिएनौं । साँच्ची महिलाको आवाज आयो ।

          कमरेडहरू के फर्कंदैथिए -.महेन्द्रको सहादत भयो । ७/८ जना घाइते भइहाले । ती महिलालाई ढाल बनाएर गोली आइरह्यो घरबाट । लाग्यो, 'ती महिलाबाहेक सर्बसाधारण अरु छैनन् ।' लाग्यो, 'नत्र त निस्किहाल्थे नि ।'

          'को को हुनुहुन्छ ? आउनुस् । हाम्रो लडाइँ प्रतिक्रियावादी सत्तासँग हो, तपाईंहरूसित होइन ।'

          पुलिसले निस्कन नदिएको महिलाको आवाज बेलाबेलामा झरिरह्यो ।

          'निस्कनुस् । नत्र गोली चलाउन बाध्य हुनेछौं ।'

          संयोग ! त्यो रातमा दिउँसोदेखि थालिएको झरी थामिदै थामिएन- कार्बाहीपछि फर्कंदासम्म पनि ।

          त्यै झरीमा त्यै दुईतले घरबाट गोली आइरह्यो ।

          चिर्र चिच्याएको महिला स्वरसँगै ती महिला कसरीकसरी फुट्केर निस्किइन् । कमरेडहरूले सोध्नुभयो, 'अरु को को छ ?'

          पुलिसबाहेक अरु नभएको बताइन् ।

          'यो अन्तिमचोटि हो, हतियार बुझँउनुस् ।' कमाण्डरको कासनको बदला उताबाट गोलीको संगीतमा आवाज पनि झरिरह्यो, ' .....को छोरा...लैजा प्रचण्डको ..लैजा ।'

          सर्बसाधारण भइदिए त निस्किहाल्थे या चिच्याउँथे होला । महिलाले भनेको ठीकै भन्ठानेर कासन आयो, 'माइन ।'

          कासनसँगै दुईतले घर गल्र्यामगुर्लुम ढल्यो ।

          (पछि थाहा भयो, पुलिसले जबर्जस्त ल्याइएकी अर्को गाउँकी चेली रहिछन् ती । त्यसैले त्यो घरमा सर्बसाधारण पनि बस्छन् भन्ने थाहा रहेनछ ।)

          भुम्म आवाजसँगै झरीमा पनि बुङ्ग धूलो उडेको देखियो -झालाक्झिलिक उज्यालोमा ।

          झरीको ताल सुस्त लागिरहेको बेला- कपेराजस्तोबाट हात निकाल्दै च्यापिएको स्वर कानमा पर्यो, 'बचाऊ बचाऊ ।'

          उतातिर फाट्टफुट्ट गोली चल्दैथियो । गोलीको वास्तै नगरेर गएँ ।

          सकी नसकी काठ, ढुंगा हटाउने कोसिस गरेँ, 'कमरेड यता आउनुस् ।'

          उता लडाइँ चल्दैछ । यता ? कमरेडहरूसँग मिलेर मुश्किलले बाहिर निकाल्यौं ।

          'कहाँ लागेको थियो चोट ?' थाहा भएन । पुलिस मारिए या नाई ? थाहा छैन । झालाकझुलुकमा आँखा लागे -पुरानो कमिज । धुलो भिज्दै गिलो हुँदैथियो । कालापारे पाइजामाजस्तो सुरुवाल ।

          उनको इशारा घरी यता घरी उता गर्न थाल्यो । त्यो इशारा चेतमा थियो या बिचेतमा ? मलाई थाहा छैन ।

उनको इशारासँगै हान्निएर गएँ । टर्च बालेँ -अंगालोमा बाँधिएका आमाछोरी । ४०/४५ की आमा । १०/१२ की छोरी । बाँदरले काखमा च्यापेजस्तै चपक्क पारेका छन्, एकअर्कालाई । 'बचाउन' भनेर छिटोछिटो ढुंगा पल्टाउने कोसिस गरेँ । काठ हटाएँ । बाहिर निकाल्न छिटोछिटो उठाउन खोजें, 'आउनुस् आउनुस् ।'

          थारा भाँतिएको धूलो हिलोमा परिणत हुँदैथियो । झालाक्झिलिक उज्यालोमा मुजा परेको अनुहार देखियो । उनको च्यूँडो छोरीको टाउकोमा छोरीको मुहार आमाको छातीमा । बच्चालाई गाउँमा 'ग्वापे आयो' भन्दाखेरि आमाको काखमा चपक्क बाँधिएको सम्झेँ । उठाउन कोशिस गरें-लत्ता परेको कपाल । गरिबीले फाटे पनि मयलले बाक्लिएको चोलो मुछिदै गरेको धुलोले झन् बाक्लिएको । एकअर्कालाई चपक्क पारेका । उठाउन खोजें तर चालचुल केही छैन । -अहिलेजस्तो हेल्थपोष्ट ब्यवस्थित गर्न सकेका थिएनौं त्यसबेला ।)

हेल्थपोष्टका साथीहरूलाई बोलाएँ, हाम्रै कोडभाषाले ।

          उठाएँ- ज्यान थिएन ।

          अँगालोमा बाँधिएका आमाछोरी देखेर आङ सालाङसिलिङ भएँ । गोली लाग्ला भनेर बूढाबालाई पर छेउतिर राख्यौं । उनी होशमा थिए या नाइ ? मलाई थाहा छैन । उनको बोली लर्बराएको थियो । आफन्तको मृत्यु, बमको धमाकाले उनको चेतकान उडिसकेको थियो ।

          आमाछोरीको छेवैमा एकछिन टुसुक्क बस्न खोजें तर सकिनँ बस्न ।

          गोली चल्न थालेपछि आमाछोरी यसरी अँगालोमा बाँधिए कि ! सायद छोरी चिच्याउन खोज्दा गोली छल्न 'नरो' भन्दै यसो गरिन् कि आमाले !

          आँखामा आँसु थियो ? चित्कार थियो ? कुनै गुनासो थियो ? कुनै कुरा मनमा बाँकी थियो भन्नलाई ? हेरेँ -आँखा चिम्म गरेर अझ हातले सिंगो भार नै थामेजस्तो आँखा चिम्म छ । हेर्छु- छोरीलाई चोट लाग्यो कि भनेर मुसार्दै ढाकेजस्तो । चिलले कुखुरालाई झम्टन आउँदा चल्लेरी माउले चल्लालाई छोपेजस्तो ।

झल्याँस्स आँखामा उभिए- हिउँको प्रतिमूर्ति रसियन कथाको आमाछोरी । ती रसियन आमाले साइबेरियाको चिसोमा बच्चा बचाउन आङको सारा कपडा खोलेर बच्चालाई न्यानो पारेकी । बाँचेकी त्यो बच्चीले दूध चुसिरहेको । तर आमा मरिसकेकी । सायद आफू मरेर पनि 'छोरी बचाउँछु' भन्ठानेर होला त्यसरी झुकेकी या सारा भार आफूमै परोस् र छोरी बाँचोस् भनेर हो यसरी झुकेकी !

          झरी जारी थियो । उनको लुगा ? मुहार ? मलाई याद छ । शरीर नै भिजाएर झरिरहेको पानी हो या जिन्दगीको आासु ? झरिरहेको सपना हो या भिजिरहेको जिन्दगी ?

सन्नाटा छाइरह्यो वरपर पनि । उनको अनुहारमा केही देखिनँ । केही क्षणपछि उनी आफैले सन्नाटा तोडे, 'युद्ध कति क्रूर छ ?'

ढल्न थालेको साँझमा एकपालि ख्वाक्क खोके ।

          'मनले त नलडम् भन्छ । तर समाजको असमानता उँचनिच हेर्दा अनिबार्य छ, लडाइँ ।'

          यदि यो कथा हुन्थ्यो भने कमसेकम उनको परिवारलाई बचाउँथें । बूढा या बूढी एक्लै कसरी जिन्दगी काट्न सक्छन् ? या त्यो बच्चीलाई बचाउँथें, रुसी कथाजस्तै । तर यथार्थ त्यसो थिएन । फरक थियो । बाढीले साराका सारा बगाउँदा पनि बचेको एउटा खिर्राको बोटजस्तै थिए ती बूढाबा ।

          'कसरी समय काट्दै होलान् बूढाबाले ? उज्यालोमा कसरी हेर्न सके होलान्- छोरी र श्रीमतीका अनुहार । छिमेकीहरूले के गरे होलान् ? कहाँ होलान् ? कसरी आफूलाई थामे होलान् ?'

          आँसुले गल्मते भएको स्वर झर्यो, 'ती बूढाबा ? बाँकी ती जीवनका बिकट पहाडमा कसरी उक्लदैहोलान् ?'

          उनको अनुहार बर्बरायो, 'जनताको युद्ध हो- जनताकै लागि लडेको । तर बुझाउनु कसरी ? जनयुद्धमा सबैको योगदान हुन्छ भन्ने कुरा बुझाउनु कसरी ती बालाई ?'

          सबैभन्दा गाह्रो रहेछ बुझाउन ।

          सेना मरे ।

          पुलिस मरे ।

          छापामार मरे ।

          किन ?

          छापामार मारिए -सुन्दर सपना फुलाउन ।

          पुलिस मारिए -नुनको सोझो गर्दागर्दै ।

          यिनका मृत्युमा अर्थ लुकेको छ । र, जबाफ छ मारिनुको ।

          तर सर्बसाधारण ? थाहा छ इतिहास बनाउने काममा सबैको लगानी हुन्छ । तर बुझाउनु कसरी ?

          रिटि्रटको सिटी बज्यो । आकाशमा हेलिकप्टर उडिरहेको थियो । ती यक्षप्रश्न बोकेर र्फकंदा खुट्टा लल्याकलुलुक भइसकेका थिए ।

          जानु थियो सेल्टरमा । ती बासँग समवेदना साट्ने समय कहाँ थियो र हामीसँग !

          बाटो लाग्दालाग्दै हेर्ने कोसिस गरें- ती बा एक्लैएक्लै के के भन्दैथिए । होशमा थिए वा थिएनन् ? मलाई थाहा छैन । भाट्राकभुटरूक् हुँदैथियो भत्केको घरमा झरीले काठ र माटो गलाउँदा ।

          सायद अब हिलोले पुरिदै होलान या के ? थाहा छैन ।

          झरी जारी थियो

          हेरें- बूढा बा उभिइरहेका थिए- उनी सपनासँगै ढलेका छोरी र श्रीमती सोचिरहेका थिए वा ढलेको चौकी वा चलेको गोलीलाई ? मलाई थाहा छैन । र्फकनुअघि ती आमाछोरीका मुहार हेर्न सकिनँ । तर अहिलेसम्म पनि पछ्याइरहेछ त्यै अनुहारले । सयौं ढलेको देखेको छु पुलिस, सेना, सहयोद्धा कमरेडहरू । लडेको छु सयौं युद्ध । तर ती बूढाबा ती आमाछोरीको मुहारले पछ्याइरहन्छ । हररात झस्कन्छु, निंदनिदै ।

          रोलकल सुरु भएको सिटी बज्यो -क्यान्टोन्मेन्टमा ।

          'के यस्ता कुरा लेख्न संभव छ ?'

          चियापसलबाट निस्कादा तिलाबजार साँझले घपक्क ढाकिसकेको थियो ।

  
***

          'क्षितिजजी ! म लागें है,­' झिसमिसेमा आँखा मिच्दै भनें, 'थुर्पाको उकालो बिहानै काटियो भने मात्र पुगिन्छ, घर्तीगाउँमा भात खान ।'

          घोराही जाने गाडीको हर्न र तिलाबाट गाउँ जाने घोडाखच्चरका कोलोको धुन बज्न थालिसकेको थियो । तिलाबजार एकप्रकारको संगीतले छोपिसकेको थियो -कालाङकुलुङ, पापा पिपी ।

          आँखा मिचेर हेर्छु, .क्षितिज त रुक्स्याक झोला बोकेर उभिएका छन् ।

          'कहाँ जाने !?'

          'पाँचकटिया । ती बालाई भेट्न ।'

          कमाण्डरसँग कुरा अनुमति लिइसकेका रहेछन् क्षितिजले । उनी सल्यानको बस कपुरकोटमा भेट्न जुँगारतिर लागे भने कालापारेका खासा टेप र खच्चरका कोलो, मैतालुको चुराको धुनसँगै थुर्पाधुरी उकालिएँ । जति उक्लदैगएँ उति नै ती आमाछोरी र पल्तिर होसहवास् उडेका बूढाबाका अनुहार आइरहे आँखामा । 

          सम्झें- टीकाजी र म तिनै बूढाबाको बृत्तचित्रको लागि पाँचकटिया जाँदैथियौं । युद्धविराम भङ्ग भएपछि बीचबाटोमै बृत्तचित्र तुहिएको थियो ।

          'बूढाबा र ती आमाछोरीहरू कति होलान् क्षितिजलेजस्तै लेख्न नसकिरहेका ?'

          'ती बा जीवितै होलान् ?'

          थुर्पाधुरी जति उक्लँदैछु थुर्पाधुरी उति उक्लँदैछन् आँखामा ती अनाम अनुहारहरू । पाँचकटिया पुगेर क्षितिजले लेख्ने संस्मरण कस्तो होला ? हररर तिर्खा लाग्यो ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
जगतलाई हेर्दा जताततै र जुनसुकै क्षेत्रमा कोही या केही हावी भइरहेको पाईन्छ । ग्लोबल लेभलमा हेर्ने हो भने क्षेत्रमा पश्चिमा, जातिमा युरोपियन, धर्ममा क्रिस्चीयनीटी, भाषामा अंग्रेजी, जेन्डरमा मेल र कल्चरमा वेष्टर्न आदि हावी छ । नेपालमा हेर्ने हो भने क्षेत्रमा काठ्माडौं, जातिमा ब्राम्हण र क्षेत्री, भाषामा खस, धर्म र संस्कारमा हिन्दू र लिङ्गमा पुरुष हावी छ । हावी भएका र ओझेलमा परेका बीच प्रत्यक्ष अप्रत्यक्ष द्वन्द छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615091
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com