मेरो शरीरमा बाँकी रहेको
अन्तिम थोपा रगत चाटेर तिमीले
मनायौ धुमधामसँग जीवनको उत्सव !
पिएर जाँडझैं घटघट
मेरो आँसुको नदी
आवाद गर्यौ तिमीले बन्जरभूमि
र, मेरो पसिनाको बाक्लो रङले
रङ्गायौ प्रजातान्त्रिक दरबार !
मेरा आँखाका ज्योतिहरुमा
छर्किएर खुर्सानीको धूलो
जुधायौ तिमीले मलाई
म आफैं विरुद्ध जुधायौ
र, लियौ झुसिलो मनोरञ्जन...!
तापेर मेरो हड्डीको रामधुनी
होम्यौ तिमीले महायज्ञमा मेरै मस्तिष्क
र, खेल्यौ बालन
बजाउँदै मेरै खोपडीको खैाजडी...!
झिकेर मेरो मुटु-कलेजो
खायौ स्वादिलो भुटुवा
मेरै आँसुको मदिरासित
र, घोप्ट्याइदियौ मेरो छातीमा कराही !
जिउँदै गाडेर चिहानमा मलाई
चिट्यौ तिमीले बरडाँडामा चौतारो
र, मञ्चन गर्यौ शोकसभाको नाटक...!
निकालेर मेरो आवाज तिमीले
मलाई बनायौ आवाजविहीन
डामेर तातो पन्यु मेरो चेतनामा
मलाई आतङ्गति बनायौ
खोस्यौ- मेरो प्रिय गीत
र, बनायौ मलाई-
आफ्नै देशभित्र अनागरिक...!
ओ समय !
नसम्झ- म इतिहास भइसकें
म वायु-बतास बनिसकें ... !
इ... हेर यता फर्केर-
हो, आइपुगेको छु म
तिम्रो दरबारको पटाङ्गिनीमा
र, उभिएको छु- भीमकाय पहाड !
अब,
फिर्ता गर्नुपर्छ तिमीले मलाई
मेरो गुमेको पहिचान
र, दिनुपर्छ एकएक गरेर
मेरो रगत, पसिना र आँसुको मूल्य ! |