दिनेलाई दिने लोभ
लिनेलाई लिने लोभ
लोभहरूको यो सस्तो बजारमा
रित्तिँदो रहेछ सबथोग
इमान रित्तो
सम्मान रित्तो
कदर रित्तो
प्रशंसा रित्तो
भरिलो त खाली लोभी र लोभ
अनि उसको फोस्रो अभिमान,
हिजो पासा तीनकानी पल्टन्दा बल्झिएर दुख्नेहरू
आज सत्र पल्टिएकोमा दंग देखिएका छन्
सकुनिको नाममा निहाँका जुलुस उठाउनेहरू
दियो बालेर धिपधिप दीपावालीमा मग्न छन्
फुलिएका भ्यगुताहरूको रीस
भोलेनाथको प्रशन्नतामा
कैलाशबाट पानी बषिर्एर
पोखरी टम्म भरिएपछि
सेलाएको छ स्वात्तै आज
एकोहोरो कर्कस ट्वार ट्वार सुनिन्ने आवाजहरू
एक्कासी बिलाएको छ डुबेर पानीमुनि
हिजो चिसो थियो
आज न्यानो छाएको छ छेपाराहरूको ज्यानमा
त्यसैले खस्रो कालो उसको छाला
रातो सिन्दूरे बनाएर हल्लाउँदै छ टाउको एकसुरमा मज्जाले,
काठमाण्डौको बौद्धमा बाँडिने भिखको विज्ञापन
भिखारीहरूको वस्ती वस्तीमा छरिएपछि
हलुङ्गेको थाल बजाउदै
तैंछाड र मैछाडको होडबाजीमा
दावी गर्दै आ-आफ्नो भागको
झुमिन्थे भिखारीहरू सोहोर्नलाई एक पेट
एउटा हात हुने एउटा थाप्थे
दुईटा हुनेले दुईटा थाप्थे
हातै नहुनेहरू खुट्टा तेर्साउथे
केही सन्की भिकारीहरू
मुखले बहिष्कार गर्दै भिखको
हात भने तेर्साइरहेकै देखिन्थे
रमिता लाग्थ्यो त्यस दिन त्यहाँ
भिख दिने र भिख लिनेको
देखेर त्यो दृश्य
निधारमा छापिएको एउटा प्रश्नवाचक चिन्ह
आज फेरि खोई किन अन्ययासै छाम्दै छु
विवेकमा ब्रेक विचारको ढु..... ढु.. मालवाहक जहाज
टाउकोमा सुन्दर सृजना बोकेर हिड्छु भन्ने
पृथ्वीको सर्वोत्कृष्ट प्राणीको दावेदार
के साँच्चै यिनै मानव हुन् ?
जो भिख लिएर सन्तुष्टि लिदैछन्
जो भिख दिएर सन्तुष्टि लिदैछन्,
जुक्ती काइदाकै हो बिर्बल काजीको
छापामा फोटो उत्रनेहरूको उरुङ लागेपछि इमेलमा
केही दिनलाई दुरुङको व्यवस्था राम्रै होला
बन्द बाटाहरू खुल्लान फेरि
ट्रान्सफर होलान् एमाउन्टहरू भित्ताहरूबाट
इन्फो एड द रेट डट डट डटकम फेरि सुचारु होला
तर हेर्न बाँकी छ
मात्र उत्रनेहरूको उरुङमा
उतार्नेहरूको खडेरी लाग्दा
छाप्दै खाली पानाहरू विरोधका प्रतीक स्वरुप
वा गर्नु पर्ने हो आन्दोलन चोमोलोङमाले
कामना गर्दछु त्यो दिन देख्न नपरोस्
दूधको दूध र पानीको पानी छुट्या��"स् फेदाङमाहरूले
लुछ्नलाई गन्धे सिनो
स्यालहरूको लाममा उभिरहनु नपरोस् बाघले
युद्धभित्र उभिएर बुद्धहरू लजाउनु नपरोस्
मिठूहरू बलात्कृत हुने डरले लुक्न नपरोस्
निर्भय भयहरू भयले आक्रान्त बन्नु नपरोस्
नपरोस् फेरि कोही रुमलिनु अर्को आत्मा आन्दोलनमा
र नपरोस् यी र यस्ता पात्रहरूले भर्दै गिलासमा बेस्वादको राँकुदेले
खोज्दै औचित्यको अर्को जिजीविषा
कठ्याङ्गि्रएको चिसो मुटु दुख्ने गरी ठोकाउदै छेक्खुए भन्न,
तर खोई ?
दिनेलाई दिने लोभ
लिनेलाई लिने लोभ
लोभहरूको यो सस्तो बजारमा
रित्तिदो रहेछ सबथोग
इमान रित्तो
सम्मान रित्तो
कदर रित्तो
प्रशंसा रित्तो
भरिलो त खाली लोभी र लोभ
अनि उसको फोस्रो अभिमान,
विविध विषयका जाँचकीहरू
छानी छानी कापि जाँच्छन्
आखिरमा सप्पै पास
पासै हुन नसक्ने पनि पास
पढाइका लास्ट फस्टतिर
फस्ट हुनुपर्ने मुस्किलले मात्र पास
झुक्किएर हो न झुक्याएर
जाँचकीहरू नै गोलमाल गोलमाल
जाँचै नदिने पनि पूरा पास
फेल हुन्छ त ऊ
जो पढ्छ मात्र खुरुखुरु स्कुलमा
तर सरकोमा ट्युशन धाउदैन
लेख्छ मात्र जानेको जति
गौतमको खुरुखुरु हुबहु सार्दैन
तर विचार्ने कसले ?
यहाँ त
कसैलाई पास गराउने लोभ
कसैलाई पास गर्ने लोभ
लोभीहरूको यो सस्तो बजारमा
रित्तिँदो रहेछ सबथोक
इमान रित्तो
सम्मान रित्तो
कदर रित्तो
प्रशंसा रित्तो
प्रमाण पत्र रित्तो
भरिलो त खाली लोभी र लोभ
अनि उसको फोस्रो अभिमान । |