(श्रृजना अनलाईन कविता प्रतियोगितामा तेश्रो विजेयी)
मिर्मिरे बिहानीमा
रातो प्रभातले चिहाए पछि
नीलो समुन्द्र पारी
थुम्का थुम्की पहाडहरु
बिहान निन्द्रामा उठेर
आँखा मिच्दै गरेका
साना नानीहरु जस्तै लाग्छन्
ठीक केही माथि उचाइमा
काला र हल्का बादलका टुक्राहरु
काउलन गाँउतिर
निस्फीक्री लम्कीरहेछन्
तल कैचे परेका सडकमा रंगीन मोटरहरु
अथक यात्रा भरिरहेका छन्
क्षण अन्तरमा
दृश्यहरु फेरिन्छन्
म भने यतिखेर जे.पी. मोर्गेनको
सत्ताइस तला माथिबाट
जिजीबिषाको रंङ्ग नियाली रहेछु ।
जीवनको चौहद्दी
घटनाहरुको आगमन अनि बहिर्गमन
दूर शहरका अनेक झाँकीहरु
हेभीवेट गाडीहरुको भार
त्यो आकासे पुलको पीडा ।
टायम स्क्वाएर छेउको घडिले
सधैं हतारो लाउँछ
अधुरो निन्द्रा लिएर
१४ नं बसतिर लम्कदै गर्दा
उस्ले मलाइ सधैं जिस्क्याउने गर्छ
जहिले जहिले अपूग
सधैं सधैं दौड्धुप्
अलार्म समयले लगाएको घुर्की ।
म सँगै उभिएकोछ म जस्तै
तनाव ग्रस्त टावरहरु
त्यही टावरमा झुण्डीएकोछ
अरु गन्डोला जीवन र
ड्रीलले हानेको दिमागहरु
कैदी छन् दिन अनि कैदी छन् रात
को युक लीनले बटुल्दै गरेको
सुकेका पातजस्तै रङ्गहीन ।
साकेला आउँछ
चासोक तङ्गनाम आउँछ
ल्होसार आउँछ
ताइमोसान र मङ्की हिल रमाउँछन्
क्रिसमस् र न्यू इयरसितै
राता फूलहरु सजिन्छन् गेटहरुमा
जङ्गलमै फूल्छन् टाँकी र सिरीस फूल
अत्तरको तीखो बासना ग्यारेजको दुर्गन्धसित मिसिन्छ
झोलाभित्रको नुडल्स फिस्स् हाँस्छ
कफिले पोल्छ आँत ।
आकासे टावरको पारिपट्टि कुदिहिड्ने बादलका टुक्राहरु
मानौं कसैको
निराकार सपना हो
चरम रापहरुमा
चट्टान फोरिरहेको
कुनै श्रमजीवी मान्छेको
कहिले मिलेनीयर बनाउन नसकेको
मार्कसिस्को ज्याक्पोट प्राइज जस्तो ।
कुनै आलंकारीक देशको
आलंकारीक नागरिक
इतर भूगोलको
यान्त्रिक शहरभित्र
यसरी नै
खण्डित सपनाहरु र
विघटित मूल्यहरुको
सालाखाला समय बाँच्ने गर्छ
२४ घण्टे सेभेन लेभेन र म्याक्डोनल जस्तै
बेहिसाब समय बाँच्ने गर्छ ।
(श्रृजना अनलाईन कविता प्रतियोगितामा तेश्रो विजेता कवि अशोक राईलाई बधाई छ)
सृजनशील साहित्य समाज हङकङ |